देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

८० वर्षे वडाध्यक्षको उद्घोष नमुना गाउँ बनाएर मर्छु

देशान्तर

त्रिपुरासुन्दरी गाउँपालिका १ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसका ८० वर्षीय कर्णबहादुर खडका विजयी भएका छन् । साविकको घोर्थलीको ४ देखि ९ वडा मिलाएर उक्त वडा गठन गरिएको थियो ।

माओवादी केन्द्रका ३६ वर्षीय उम्मेदवार कुमार खत्रीलाई १ सय १३ मतले पछि पारेका थिए । खडकाले २ सय ७१ मत प्राप्त गरेका थिए । उनको पाँचै जनाको प्यानल विजयी भएको छ । उनी १५ वर्षको उमेरदेखि नै पञ्चायती राजनीतिमा सक्रिय थिए । उमेर ढल्किँदै गए पनि उनी राजनीतिमा सक्रिय थिए । युवाहरूबीच पार्टीको टिकटका लागि विवाद भएपछि उनले आफू उम्मेदवार बन्ने इच्छा राखेका थिए ।

विजयी भएपछि समर्थकले उनको अगुवाइमा विजय र्‍याली गरेका छन् । खडकाले पञ्चायतकालमा २०३५ र २०४२ को निर्वाचनमा दुई पटक वडाध्यक्ष जितेका थिए । २०४८ देखि नेपाली कांग्रेसमा सक्रिय थिए । २०४९ र २०५४ मा वडाध्यक्ष पराजित भएका थिए ।

सानैदेखि गोठमा बसेर भैंसी पाल्दै आएका खडका आफूले प्रशस्त दूध खाएकाले स्वास्थ्यमा समस्या नभएको बताउँछन् । उनी निरोगी र फुर्तिला छन् । गाउँको विधान बनाएर योजना अघि सार्ने लक्ष्य उनको छ । ‘युवाहरूको भावना समेटेर वडालाई आधुनिक रूपमा विकासमा डोर्‍याउनेछु,’ उनले भने, ‘गाउँलाई सहर जस्तै बनाउँछु ।’

गाउँबाट धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा सडक पुर्‍याउने योजनालाई प्राथमिकता दिने जानकारी उनले दिए । तीन श्रीमती र १७ जना छोराछोरीका बाबु खडका दैनिक ५–६ घण्टा लगातार हिँड्न सक्छन् । तीनै जना श्रीमतीको मृत्यु भइसकेको छ । ९ जना छोराछोरीको सानैमा मृत्यु भएपछि अहिले ८ जना छन् ।

उनका छोरा घीउकाजी खडका भन्छन्, ‘जितेपछि बुवा झन् उत्साहित हुनुभएको छ । बुवाले आफूहरूले बोक्नेभन्दा दोब्बर भारी बोक्ने गरेको उनी सुनाउँछन् । साविकको धुस्कुन, चोकटी, पिस्कर, घोर्थली, टेकानुपर र तौथली मिलाएर उक्त गाउँपालिकाको सीमा निर्धारण गरिएको थियो । कान्तिपुरमा समाचार प्रकाशित छ ।

नेपाली कांग्रेसबाट त्रिपुरासुन्दरी गाउँपालिका–१ को वडाध्यक्ष जितेका ८० वर्षीय कर्णबहादुर खडका ।