देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काभ्रे र भक्तपुरको चाँगुनारायणमा स्थगित निर्वाचन आज

देशान्तर

काठमाडौं । जिल्लाको दुई नगरपालिकाको वडामा स्थगित स्थानीय तहको निर्वाचन बुधबार हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार धुलिखेल नगरपालिका वडा नम्बर १२ र नमोबुद्ध नगरपालिका वडा नम्बर ४ को स्थगित निर्वाचन बुधबार हुन लागेको हो । धुलिखेल नगरपालिका वडा नम्बर १२ मा वडासदस्यको उम्मेदवार रहेका राप्रपाका सुकलाल तामाङको गत २८ वैशाखमा मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो ।

त्यस्तै, नमोबुद्ध नगरपालिका वडा नं. ४ मा निर्वाचनको अघिल्लो दिन झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर भकुन्डेबेसीका २८ वर्षीय नवराज पाठक ९राम०को मृत्यु भएको थियो । सोही कारण निर्वाचन स्थगित भएको थियो ।

यस्तै स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत विवादित चाँगुनारायण नगरपालिकामा बुधबार पुनः मतदान हुने भएको छ । चाँगुनारायण– ६ स्थित वडा कार्यालय अर्थात् साबिक नगरकोट गाविस भवनको मतदान केन्द्रमा भने निर्वाचन आयोगले पुन: मतदान गर्ने भएको हो ।

आइतबार मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किएपछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्न परिपत्र गरेपछि त्यस क्षेत्रमा पुनः मतदान हुने भएको हो ।

नवलपरासी जिल्लाका लागि तयार पारिएको मतपत्र चाँगुनारायणमा वितरण गरिएपछि नेमकिपाले उक्त २२ मत बदर गर्न माग गर्दै मतगणना गर्न नदिएपछि मतगणना हुन सकेको थिएन । निर्वाचन अधिकृत रिञ्जा डङ्गोलका अनुसार चाँगुनारायण नगरपालिकाको सर्वदलीय बैठकले विवादित विषयलाई टुङ्गो लगाउन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्ने परिपत्र गरेको हो । चाँगुनारायण– ६ मतदान केन्द्र‘ख’ मा कुल ८०७ मतदाता छन् ।