देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीलंका र थाइल्यान्डको भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किएकी छिन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ गत वैशाख २९ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको भ्रमणबारे जानकारी गराउँदै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न थप मद्धत मिलेको बताए । “निकै लामो समयको अन्तरालमा नेपालको राष्ट्र प्रमुखबाट भएको यस भ्रमणलाई श्रीलङ्का सरकारले उच्च सम्मान व्यक्त गरेको महसुस गरेका छौँ”– उनले भने ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले श्रीलङ्काली समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा समेत गरेको राष्ट्रपतिको भ्रमण दलमा सहभागी मन्त्री बुढाथोकीले जानकारी दिए । नेपाल र श्रीलङ्काबीच दौंत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठका अवसरमा श्रीलङ्काली समकक्षीले यही वर्ष नेपाल भ्रमण गर्ने श्रीलङ्काली पक्षले जनाएको छ । श्रीलङ्काली राष्ट्रपति सिरिसेनाले सम्भवतः आउँदो असोजमा नेपाल भ्रमण गर्ने बताइएको छ ।

विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, मन्त्रीगणलगायत नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति भण्डारीले सहभागिता जनाएकी थिइन् ।