देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति भण्डारी पाँचदिने थाइल्यान्ड र श्रीलङ्का भ्रमण आजबाट

देशान्तर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्ड गरी पाँचदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्ककतर्फ जाँदैछन् । श्रीलङ्काकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन् । राष्ट्रपति भण्डारी शुक्रबार बिहान १०ः १५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको छ । वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु हुने सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ ।

सन् २००० देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यानमालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन् । श्रीलङ्काले तीन दिनसम्म यस सम्बन्धी विशेष सम्मेलन गरिन्छ । श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको परारष्ट्रमन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नेछन् ।

थाइल्यान्डमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्व थाइ राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यापर्ण गरी श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम तय भएको छ । गत वर्ष असोज २७ गते निधन भएका थाई राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ । उनको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यही प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ । राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उनको पार्थिव शरीरमा माल्यापर्ण गर्दै आएका छन् ।

राष्ट्रपतिको भ्रमणमा सवारीमन्त्रीका रुपमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव ९दक्षिण एसिया महाशाखा० भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, सञ्चारकर्मीलगायत उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।