देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरालाई पर्यटकमैत्री, अन्तर्राष्ट्रियस्तरको सहर बनाउने कांग्रेसको घोषणा

देशान्तर

पोखरा । नेपाली काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकालाई पर्यटकमैत्री, स्वच्छ अन्तर्राष्ट्रिय सहरका रुपमा विकास गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा महानगरवासीलाई सडक, यातायात, सञ्चारलगायतका सुविधा सम्पन्न बनाइने बताइएको छ ।

घोषणापत्रमा महानगरभित्र फ्लाइओभर, टनेलमार्ग र आकासेपुल निर्माण एवम् सम्भाव्यस्थलमा मनोरेलको निर्माणद्वारा ट्राफिक जाम र भीडको व्यवस्थापनसँगै सहरी प्रदूषण नियन्त्रण गर्ने, महानगरका ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा एवम् प्राकृतिक सौन्दर्य र जैविक विविधताको उचित स्याहार, सम्भार र संरक्षणद्वारा पर्यटन विकास गर्नमा जोड दिइने उल्लेख छ ।

महानगरभित्र एक–एकवटा नमुना उद्यान निर्माण गरिने, शान्तिवाटिकालाई नमुना बोटानिकल गार्डेनका रुपमा निर्माण गरिने, ‘एक घर एक रुख’, ‘एक गाउँ, एक वन’ तथा ‘एक नगर अनेक उद्यान’ जस्ता कार्यक्रम लागू गर्ने काँग्रेसले जनाएको छ ।

स्तरीय निःशुल्क माध्यमिक विद्यालयसम्मको शिक्षा, सीपमूलक प्राविधिक विद्यालय र शिशु विकास केन्द्रसहित सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने उच्च शिक्षाको प्रबन्ध गरी शैक्षिक केन्द्रका रुपमा विकास गरिने उल्लेख छ ।

सडकका खाल्टाखुल्टी तथा पूर्णतयाः बिग्रेका सडकलाई एक वर्षभित्रमा चिल्लो र पक्की बनाइने र प्रत्येक वडासँग समन्वय गरी प्रतिवर्ष कम्तीमा ६० किलोमिटर बाटो कालोपत्रे गरिने काँग्रेसको सोच छ ।

महानगरभित्रका तालतलैयाको संरक्षण र प्रवद्र्धनकासाथै सबै ताल जोड्ने सडक सञ्जाल विस्तार गरी ताल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पैदल मार्ग, साइकलिङ रिङ्रोड र अन्य पूर्वाधार तयार गरी ऊर्जा उत्पादन, मत्स्यपालनलगायत बहुउपयोगी रणनीति तयार गरिने उल्लेख छ ।

धार्मिक, सांस्कृतिक पुरातात्विक महत्वका स्थलको संरक्षण, प्रवद्र्धन एवम् आस्थाअनुसारका मठमन्दिर, प्रार्थनागृहको उचित व्यवस्थापन गर्ने, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गका लागि आवश्यक पूर्वाधारको विकास गर्ने काँग्रेसले जनाएको छ ।

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने, अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गर्ने, अन्तर्राष्ट्रियस्तरका खेलमैदान निर्माण गर्ने, बसपार्क व्यवस्थित गर्ने, मेट्रो रेल सञ्चालन गरी अन्य सहरसँग जोड्ने, महानगरवासीलाई सूचना र प्रविधिमैत्री बनाउने, नदीनालाको उचित संरक्षण गर्नेलगायतका धेरै योजना घोषणापत्रमा समेटिएको छ ।

कृषिको आधुनिकीकरण, एकीकृत सुरक्षा व्यवस्था, घर घरमा स्वच्छ खानेपानीको प्रबन्ध, टोल टोलमा सार्वजनिक शौचालयको निर्माणलगायत विषयलाई पार्टीले प्राथमिकतामा राखेको छ ।

घोषणापत्रमा उल्लेख गरिएका विषयलाई प्राथमिकताका साथ अघि बढाइने नेपाली काँग्रेस, कास्कीका उपसभापति हरि आचार्यले बताए ।

“महानगरमा विजयी हुनासाथ घोषणापत्रमा उल्लेख गरिएकामध्ये तत्काल गर्न सकिने कामलाई प्राथमिकताका आधारमा अघि बढाइनेछ,” उनले भने – “दीर्घकालीन योजनामार्फत सम्पन्न गर्न सकिने काम पाँच वर्षे समयावधिभित्र कार्यान्वयनको प्रक्रिया अघि बढाएर त्यसलाई दीर्घकालीन योजनामा समावेश गराइने छ ।”

महानगरमा परिणत पोखरा उपत्यका चार लाख १४ हजार १४१ जनसङ्ख्या सहित ४६४।२५ किमीमा विस्तारित छ ।

तत्कालीन पोखरा उपमहानगरपालिकाका भू–क्षेत्र तथा लेखनाथ नगरपालिकासहित थपिएका भू–क्षेत्रले ३३ वटा वडासहितको नेपालकै ठूलो महानगर बनेका कारण राजनीतिक दलहरूले महानगरको विजयलाई सुनिश्चित गराउने विभिन्न कार्ययोजनाका साथ चुनावी प्रतिस्पर्धामा आफूलाई अघि सारेका छन् ।

ज्येष्ठ नागरिकलाई बेग्लै लाइन बनाउन आग्रह

आसन्न स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ प्रदेश नं ४ ले प्रदेशका ज्येष्ठ नागरिकलाई निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ ।

महासङ्घले सोमबार विज्ञप्ति जारी गरी कसैको करकापमा नपरी स्वतन्त्र ढङ्गले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न ज्येष्ठ नागरिकलाई अनुरोध गरिएको छ ।

महासङ्घका केन्द्रीय कार्यसमितिका सदस्य तथा प्रदेश नं ४ का संयोजक, प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “ज्येष्ठ नागरिकले मतदान गर्न पाउने नैसर्गिक अधिकारमा जबर्जस्ती नगर्न र कुण्ठित नगर्न सरोकारवालालाई अनुरोध गरिन्छ ।”

निर्वाचनलाई साँच्चैको स्वतन्त्र, भयरहित बनाउन र ज्येष्ठ नागरिकको इच्छाअनुसार मतदान गर्न सघाउन सम्पूर्ण परिवारजन, समाजका अगुवा र राजनीतिक दलले वातावरण बनाउनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

यसैगरी निर्वाचनका समयमा स्वास्थ्यको स्थिति हेरेर ६५ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकका लागि बेग्लै लाइनको व्यवस्था मिलाउन र मतदानका लागि धेरै समय लाइनमा कुर्नुपर्ने अवस्था नबनाउन आग्रह गर्दै महासङ्घले ज्येष्ठ नागरिकलाई खानेपानीको व्यवस्था मिलाउन र अपर्झट स्वास्थ्य सजगता अपनाउन साथै तदनुसारको एम्बुलेन्सको फोन सम्पर्क राख्नका लागिसमेत निर्वाचनका सरोकारवाला सबैमा अपिल गरेको छ ।