देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आचारसंहिता उल्लघंन गर्ने एमालेको उम्मेदवारसँग २४ घण्टे स्पष्टीकरण मागियो

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) तर्फबाट धादिङ, थाक्रे गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवार अम्बिका रुपाखेतीसँग चौबीस घन्टे स्पष्टीकरण सोधेको छ ।

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको सिलसिलामा एमाले उम्मेदवारले आज तीन ट्रक प्रचारकसहितको स्कारपियो गाडी, ब्यानर एवम् दल र निर्वाचन चिह्नसहितको टि–सर्टलगायत निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ विपरीत मोटरसाइकल र्याली निकालेको भन्दै स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, “निर्वाचन आचारसंहिता विपरीत काम कारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्न आदेशानुसार अनुरोध छ ।”

धादिङको निर्वाचन तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन आज धादिङबेँसी पुगेका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव स्वयम्ले स्थानीय सिम्लेमा उम्मेदवारहरुले आचारसंहिता विपरीतका गतिविधि गरेको फेला पारेका थिए । सो क्रममा डा यादवले तत्काल र्याली रोक्नसमेत निर्देशन दिएका थिए ।

यस्तै आयोगले फेसबुकमार्फत गलत सूचना सम्प्रेषण गरी आचारसंहिताको उल्लङ्घन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचेतक सीता नेपालीसँग पनि स्पष्टीकरण सोधेको छ । सचेतक नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै ‘माओवादी केन्द्र–१४५, नेपाली काँग्रेस–१३५, नेकपा ९एमाले०–२५, राप्रपा–२ र नयाँ शक्ति–१’ ठाउँमा निर्विरोध सदस्य निर्वाचित भएको गलत सूचना फेसबुक स्टाटसमा राखेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।