देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्यटन प्रवद्वनमा गोकर्णेश्वरका कांग्रेस उम्मेदवारको अर्जुनदृष्टि

देशान्तर

काठमाडौँ । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र मानव निर्मित पर्यटकीय स्थलहरुले भरिपूर्ण गोकर्णेश्वर नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवारको मूल नारा पर्यटन प्रवद्वन बनेको छ । उनीहरुले पर्यटन प्रवद्वनलाई पहिलो प्राथमिकतामा राखी प्रचारप्रसार अभियान चलाइरहेका छन् । नगरमा अहिलेसम्मका सबै परिवर्तनमा सहादत प्राप्त गर्ने सहिदका नाममा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारक, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायत प्रजातान्त्रिक आन्दोलनका नेताहरुलाई एक दशकसम्म बन्दी बनाइएको सुन्दरीजल बन्दी गृह (हाल बिपी सङ्ग्रहालय), सुन्दरीजल, तारेभीर, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, बाग्मतीको उद्गमस्थल बाग्द्वारलगायत दर्शनीय स्थल छन् । सुन्दरीजलबाट उपत्यकामा सबैभन्दा धेरै खानेपानी आपूर्ति गर्ने गोकर्णेश्वर नगरपालिकामा ४७ पदका लागि हुने स्थानीय तहको निर्वाचनमा २०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बाग्द्वारबाट निकुञ्ज हुँदै आउने पानीलाई सुन्दरीजल र महाङ्कालचौरमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । मुहानमाथि नगरपालिकाको वडा नम्बर एकका तीन बस्ती छन् । तामाङ समुदाय बसोवास गर्ने मूलखर्क, ओखरेनी र चिलाउनेको बस्तीलाई स्थानान्तरण गरी शुद्ध पिउने पानी पठाइने मुद्दालाई सबै दलले महत्वका साथ उठाएका छन् । निकुञ्जभित्रको यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा कांग्रेसका उमेदवारहरुले जोड दिएका छन् । नगरपालिकामा साविकको सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्णेश्वर र जोरपाटी गाविस समावेश गरिएको छ । सुन्दरीजल र नयाँपाटी गाविसको दुई नम्बर वडा एक नम्बरमा, नयाँपाटी गाविसको ३ देखि ९ सम्मको वडालाई नगरपालिकाको दुई नम्बरमा राखिएको छ ।

साविकको बालुवा गाविस नगरपालिकाको वडा नम्बर तीन, गोकर्णेश्वर गाविस वडा नम्बर चार, साविक जोरपाटी गाविसको एक र दुई वडा नगरपालिकाको वडा नम्बर पाँच तथा जोरपाटी गाविसको वडा तीन र चार नगरपालिकाको छ नम्बर वडा बनेको छ । जोरपाटीको वडा नम्बर पाँच नगरपालिकाको सात, जोरपाटीको वडा नम्बर छ र सात नगरपालिकाको आठ, जोरपाटी गाविसको वडा नम्बर आठ र नौ नगरपालिकाको नौ नम्बर वडा बनेको छ । ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेवको मन्दिरका नामबाट पहिले गाविस र अहिले नगरपालिकाकै नामकरण गरिएको छ । भदौ कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन यहाँ स्वदेश र भारतबाट भक्तजनको दिवंगत पितृका नाममा पिण्डदान गर्न भीड लाग्छ ।

पुस कृष्ण औँसीमा विशेष मेला लाग्ने गोकर्णेश्वरमा सोह्र श्राद्धमा श्राद्ध गर्न श्रद्धालु ठूलो सङ्ख्यामा भक्तजन ओइरिन्छन् । तथ्य प्रमाण नभए पनि मानदेवको शासनकालमा बनेको भनी विश्वास गरिने गोकर्णेश्वर महादेवको मन्दिरसँगै ऐतिहासिक गोकर्ण देशे प्राचीन नेवारी बस्ती छ । नेपाली काँग्रेस नगर प्रमुखका उम्मेदवार सन्तोष चालिसे गोकर्णेश्वर क्षेत्रमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विश्वासका आधारमा भारत लगायत विश्वका पर्यटकको आकर्षणको केन्द्र बने पनि पूर्वाधारको अभाव र प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए ।

नगरस्तरको भौतिक पूर्वाधार निर्माण, शान्ति सुरक्षा र फोहरमैला व्यवस्थापन एवम् वातावरणीय शुद्धतालाई दलहरुले प्राथमिकता दिएका छन् । जोरपाटी–गोकर्णेश्वर–सुन्दरीजल सडक सुधार हुनुपर्ने स्थानीयवासीको माग पनि सबै दलको चुनावी मुद्दा बनेको छ । काँग्रेसबाट शान्ति नेपाल उपप्रमुखको उमेदवार छन् ।