देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने आयोजनामा मद्दत गर्न एडिबी सँग नेपालको आग्रह

देशान्तर

जापान । नेपालले आफ्नो सामाजिक–आर्थिक रुपान्तरणमा मद्दत पुग्ने ठूला र परिणाम देखिने परियोजनामा सहयोग गर्न एसियाली विकास बैंक एडिबी सँग आग्रह गरेको छ ।

एडिबीको ५०औँ वार्षिक बैठकमा भाग लिने सिलसिलामा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैंकका अध्यक्ष ताकेहिको नाकाओसँग आईतवार भएको भेटवार्तामा त्यस्तो आग्रह गरेका हुन ।

कृषिको आधुनिकीकरण, जलविद्युत् उत्पादन र प्रसारण, यातायात सञ्जाल विस्तार, पर्यटन तथा सहरी विकास पूर्वाधारका ठूला आयोजनामा लगानी वृद्धिलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले सरकारका ती प्राथमिकता कार्यान्वयनमा एडिबीको थप सहयोग अपरिहार्य हुने बताए ।

एसियाली विकास कोष एडिएफको काठमाडौँमा सम्पन्न १२ औँ बैठकमा अध्यक्ष नाकाओले बैंकबाट नेपाललाई वार्षिक रुपमा प्रदान हुँदै आएको ३० करोड अमेरिकी डलरलाई बढाएर ५० करोड अमेरिकी डलर पु¥याउने घोषणाको स्मरण गराउँदै त्यसको कार्यान्वयनका निम्ति अनुरोध गरे ।

साथै उनले एडिबीबाट नेपाललाई प्राप्त सहयोग तथा बैंकको अगुवाइमा सञ्चालित विकास–निर्माणका आयोजना कार्यान्वयनमा भएको उत्साहजनक प्रगति, आयोजनाको ठेक्कापट्टा तथा परिचालन भएको रकममा सफलता, बैंकबाट प्राप्त सहायताको उपयोगलाई थप प्रभावकारी तुल्याउन नेपाल सरकार तथा सम्बन्धित निकायबाट भइरहेका विशेष प्रयास, आयोजनाको पूर्वतयारीमा जोड दिनाका साथै बैंक र कार्यान्वयन एकाइसँग समन्वयमा भएको वृद्धिबारे जानकारी दिए ।

एक महिनाअघिदेखि एडिबीको नेपाल कार्यालय देशीय निर्देशक विहीन हुँदा त्यसले नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयनलाई प्रभाव पारेकाले शीघ्र नियुक्ति गरी कार्यक्षेत्रमा पठाउन पनि उपप्रधानमन्त्री महराले आग्रह गरे ।

“एडिबीको सहयोगमा सञ्चालित आयोजनामध्ये लामो समयदेखि बैंक तथा नेपाल सरकारको प्रतिष्ठाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना यही अक्टोबर बडादसैँतिहारमा सम्पन्न गर्ने गरी काम भइरहेको छ, यो आयोजना सम्पन्न हुनु नेपाली जनता र बैंकका लागि गौरव र गर्वको विषय हो”, बैंकका तर्फबाट नेपाली जनताको खुसीमा सहभागी हुन अध्यक्ष नाकाओलाई निमन्त्रणा गर्दै उनले भने ।

मेलम्चीको पानी काठमाडौँवासीका धारामा झरेको खुसियालीमा आयोजना हुने समारोहमा एडिबी अध्यक्षको सहभागिताको नेपाल सरकारले अपेक्षा गरेको मन्त्री महराले बताए। यस वर्ष नेपालको आर्थिक वृद्धिदर ६।९ प्रतिशत रहने प्रक्षेपण सुनाउँदै उनले यो वृद्धिदर २५ वर्षयताकै उच्चतम भएको बताए ।

भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा प्रभावित समुदायको जीविकोपार्जन एवम् पुनःस्थापना सम्बन्धी काम तदारुकताका साथ भइरहेको, विद्युत् आपूर्तिमा सुधार आएको तथा मनसुन अनुकूल रहेकाले कृषि उत्पादनमा भएको वृद्धिले नेपालको वृद्धिदर बढाएको उनको कथन थियो ।

बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहको वृद्धिदरमा आएको कमीसँगै चालु खाता तथा शोधनान्तर स्थितिमा देखिएको चापलाई गम्भीर चिन्ताका रुपमा प्रस्तुत गर्दै अर्थमन्त्री महराले अन्य समष्टिगत आर्थिक परिसूचक भने सकारात्मक रहेको बताए ।

नेपालको संविधानअनुरुप राज्यको पुनःसंरचनाको काम अघि बढिरहेको तथा सङ्घीयतालाई संस्थागत गर्ने क्रममा यही वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुन लागेको जानकारी दिँदै उनले उक्त निर्वाचनले नेपालको आर्थिक विकासका कार्यसूची र प्रतिफललाई तल्लो तहसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल र नेपालीको विश्वास सुनाए ।

नयाँ संविधान जारी भएपछि नेपालको ध्यान आर्थिक एवम् सामाजिक विकासमा केन्द्रित भएको बताउँदै उनले दिगो विकासका लक्ष्य हासिल गरी सन् २०३० विसं ८६ तिर सम्ममा मध्यम आयस्तरको राष्ट्र बनाउने नेपालको लक्ष्य प्राप्तिमा थप सहयोग गर्न आग्रह गरे ।

एडिबीले पाँच दशकमा नेपालको विकास प्रयासमा गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै उनले अध्यक्ष नाकाओको नेतृत्वमा नेपाल र एडिबीबीचको सम्बन्ध अझ सुदृढ एवम् सबल बन्ने विश्वास व्यक्त गरे ।

नेपालको भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, व्यापार सहजीकरण, भन्सार प्रणालीको अत्याधुनिकीकरण, आयआर्जनका कार्यक्रम तथा परियोजनामा लगानी, प्राविधिक सहयोगलगायत नेपालको विकासका आवश्यकता र नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष नाकाओले व्यक्त गरे ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोगका माध्यमबाट पनि नेपाललाई आर्थिक एकीकरणको दिशामा बैंकले अग्रसर गराएको बताउँदै एसियाली विकास कोषबाट सहायता बढाउने, नेपाल निर्देशकको शीघ्र नियुक्ति गर्ने तथा सम्भव भएसम्म मेलम्ची खानेपानी आयोजना पूरा भएका बेला नेपाल भ्रमण गर्ने उनले बताए ।