देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुस्लान अत्तरिया कप महिला क्रिकेट सुरु

देशान्तर

धनगढी । अत्तरियामा देशकै सर्वाधिक धनराशिको रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । युनाइटेड अत्तरिया स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगितामा विभागीय टोली एफिएफले विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा विभागीय टोली एपिएफले मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले पराजित गरेको हो । अत्तरियास्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनायो । टोलीलाई सम्मानजनक योगफलसम्म डोहो¥याउनका लागि सरस्वती चौधरी र मेन्सी चौधरीको प्रदर्शन उत्कृष्ट रह्यो । दुवै जनाले पाँचौँ विकेटका लागि ४३ रनको अविजित पारी खेले । साझेदारीमा सरस्वतीले अविजित २१ र मेन्सीले अविजित १९ रन बनाइन । टोलीका लागि रितु जैनले १९ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले १४ रनको योगदान दिइन् । एपिएफका लागि करुणा भण्डारीले मात्रै एक विकेट लिइन् । तीन जना खेलाडी रनआउट भए ।

चौरानब्बे रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको एपिएफले १५.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । जितमा ज्योति पाण्डेय अर्धशतकीय पारी खेल्दै ५३ रन बनाउन सफल भइन् । त्यस्तै करुणाले अविजित १८ रन बनाइन् । करुणा र ज्योतिले चौथो विकेटका लागि ६६ रनको साझेदारी गरे । मिलन क्रिकेट एकेडेमीका लागि सङ्गीता राईले दुई विकेट लिइन् । खेलको म्यान अफ द ओमेन हुँदै एपिएफकी ज्योतिले रु तीन हजार हात पारिन् । प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा राइजिङ क्रिकेट वुमन काठमाडौँ र कैलाली जिल्ला क्रिकेट एकेडेमी तथा दोस्रो खेलमा एपिएफ र कञ्चनपुर ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । करिब रु २५ लाख खर्च हुने टि–२० को विजेताले उपाधिसहित रु दुई लाख तथा उपविजेताले एक लाख हात पार्नेछन् । प्लेयर अफ दि सिरिजलाई रु २५ हजार तथा बेस्ट ब्याटिङ पर्फर्मेन्स, बेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान रु १०÷१० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भाग लिने छ वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली छन् । समूह बी मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राइजिङ क्रिकेट वुमन काठमाडौं बारा क्रिकेट एकेडेमी छन् ।