काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिवद्धता रहेको बताएका छन् ।
आफ्नै निजी निवास लाजिम्पाटमा सोमवार सिन्धुपाल्चोकमा क्रियाशील नेकपा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले निर्वाचन हुँदैन कि भनेर कुनै पनि आशङ्का नगर्न आग्रह गरे।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोगको प्रस्तावका कारण निर्वाचन रोकिन्छ कि भनेर विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्रीले भने “मङ्गलबार निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको छ । पहिलो चरणमा हुने निर्वाचनका लागि प्रक्रिया सुरु हुन्छ, महाअभियोग र निर्वाचनसँग कुनै पनि साइनो सम्बन्ध छैन ।”
प्रधानमन्त्रीले ‘प्रचण्ड’ले निर्वाचनको सम्पूर्ण प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा कोही कसैले व्यक्त गर्ने आशङ्का र कुनै पनि पक्षबाट आउने आक्षेपले सरकार विचलित नहुने र निर्वाच्न गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
“महाअभियोग दर्तापछि राजनीतिमा तरङ्ग आएको छ, तर महाअभियोग संसदीय प्रक्रियामा जान्छ, यसले निर्वाचनमा कुनै असर गर्दैन” उनले भने –“भोलि मनोनयन दर्ता हुन्छ र वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न हुन्छ, यसमा कुनै भ्रम पाल्न जरुरी छैन, निर्वाचनमा भाग लिने सबै राजनीतिक दल भ्रममा नपरी भोलिको मनोनयनमा सहभागी हुनुहोस् ।”
प्रधानमन्त्री प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा आजै आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता खड्गप्रसाद ओलीसँग छलफल गरेको जानकारी गराउँदै राष्ट्रको आवश्यकता र जनताको चाहना निर्वाचन मात्रै रहेको बताए ।
मधेसवादी दलले समेत निर्वाचनमा आउने इच्छा व्यक्त गरेको र पहिलो चरणको निर्वाचनको प्रक्रिया अगाडि बढाउँदै लैजाने र संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढाउने सन्दर्भमा सहमति जनाएको उनले बताए।
प्रधानमन्त्रीले पहिलो पटक सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको र त्यसका लागि माओवादी नेतृत्वको वर्तमान सरकार नै प्रमुख हिस्सेदार रहेको बताउँदै निर्वाचनलाई सफल बनाई जनताले आफ्नो अधिकार लिने बेला आएको बताए ।
प्रतिक्रिया