देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन महाअभियोग : काँग्रेस

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताएका छन्।

काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले सोमवार पार्टी केन्द्रीय कार्यालयमा गरेको पत्रकार भेटघाटमा नेताहरुले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकको सिद्धान्त विपरीत नियतबस अदालतका निर्णय गरेको र सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।

कार्यक्रममा काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सदैव स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको पक्षमा रहेको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश विरुद्ध महाअभियोग दर्ता भएको धारणा व्यक्त गरे ।

काँग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि को गृहमन्त्री हुन्छ भन्ने जिज्ञासामा महामन्त्री कोइरालाले त्यसबारेमा शीर्ष नेता बसी टुङ्गो लगाउने जानकारी दिए ।

काँग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनअघि संशोधन प्रस्ताव पारित नभए पनि त्यसले निर्वाचनमा कुनै प्रभाव नपर्ने बताए । संशोधन प्रस्ताव पारित गर्ने प्रयास निरन्तर जारी रहने बताउँदै नेता सिटौलाले निर्वाचनका लागि पार्टीको तयारी अन्तिम चरणमा रहेको जानकारी गराए।

कार्यक्रममा प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले काँग्रेस स्थापनाकालदेखि नै स्वतन्त्र, निष्पक्ष र सबल न्यायापालिकाको पक्षमा उभिँदै आएको बताउँदै न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाइराख्न प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको अवगत गराए ।

सरकारले कानुन बमोजिम प्रहरी प्रमुखको नियुक्तिमा सर्वोच्च अदालतबाट हस्तक्षेप भएको र न्यायको सिद्धान्त विपरीत प्रधान न्यायाधीशले न्यायाधीशहरुको इजलास तोक्ने गरेको आरोप लगाउँदै मन्त्री लेखकले अदालतप्रति जनताको विश्वास जोगाइराख्न पनि महाअभियोगको प्रस्ताव आएको जिकिर गरे।

काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ जना सांसदहरुले हस्ताक्षर गरी आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता गराएका थिए । सोही विषयप्रति असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार नै पदबाट राजीनामा दिएका थिए।

काँग्रेस उम्मेदवारको टुङ्गो आजै

काँग्रेसले पहिलो चरणको स्थानीय तहका लागि पार्टीका आधिकारिक उम्मेदवार सोमवार नै चयन गरिसक्ने जनाएको छ ।

पहिलो चरणको निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का सबै तहमा आज पार्टीका अधिकारीका उम्मेदवारको टुङ्गो लगाउन पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बसिरहेको छ ।

निर्वाचन आयोगले मंगलवार वैशाख १९ गते उम्मेदवार मनोनयनको तालिका सार्वजनिक गरेको छ । त्यसका लागि सोमवार रातिसम्म भए पनि सबै तहमा उम्मेदवारको टुङ्गो लागिसक्ने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

काँग्रेसले महानगरपालिका र उपमहानगरपालिका केन्द्रले र बाँकी सबै तहमा उम्मेदवार चयन गर्न जिल्लास्थित पार्टीको संयन्त्रलाई जिम्मेवारी दिएको थियो । तर प्रदेश नं ६ बाहेकका केही तहमा उम्मेदवार चयन गर्न विवाद देखिएपछि त्यसको पनि केन्द्रले नै टुङ्गो लगाउँदैछ ।

पार्टीले निर्वाचनको तयारीका लागि सबै तहमा निर्वाचन परिचालन समिति र प्रचारप्रसार समिति गठन गरी घोषणापत्र समेत पठाइसकेको जनाएको छ । सरकारले प्रदेश नं ३, ४ र ६ मा पहिलो चरणको स्थानीय निर्वाचन वैशाख ३१ मा तथा प्रदेश नं १, २, ५ र ७ मा दोस्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते गर्ने निर्णय गरेको छ ।