देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चट्याङका कारण घरमा आगलागी दुईको मृत्यु, सात घाइते

देशान्तर

ताप्लेजुङ । चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

चट्याङपछि आगलागी हुँदा स्थानीय ज्ञानबहादुर शेर्पाको घर जलेको स्थानीय लक्ष्मी खतिवडाले जानकारी दिए।

चट्याङले पासाङ शेर्पा सामान्य घाइते भएका छन् । तीनतले घर जल्दा लाखौँको क्षति भएको तर पूर्ण विवरण सङ्कलन भइनसकेको रेडक्रस शाखा खोक्लिङका अध्यक्ष झरेन्द्र थापाले बताए ।

बालकको मृत्यु
यसैगरी छाताको डाँठमा बारुद भरेर आगो सल्काउँदा पड्किएर घाइते भएका आठराई त्रिबेणी गाउँपालिका– १ निघुरादिनका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुकवीर तामाङका छोरा १० वर्षीय मिलन तामाङ रहेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार साँझ साथीसँग बसेर सलाइको बारुद निकालेर डाँठमा भरेको र पछि आगो सल्काउँदा पड्किएर मिलन घाइते भएका थिए । सँगै रहेका रुपनारायण नाम गरेका साथी भागेका थिए ।

घाइते भएका मिलनलाई भने आइतबार बिहान स्कूल जाने साथीले लडिरहेको देखेपछि गाउँलेलाई खबर गरेका थिए । गाउँलेले थाहा पाएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको मृत्यु भएको स्थानीय नगेन्द्र सिटौलाले जानकारी दिए ।

त्यसैगरी पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

आइतबार साँझ झरीसँगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका–११ पाङ्ग्राङ २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका–६ फलामखानीका ३६ वर्षीय धनकुमारी थापाको मृत्यु भएको हो ।

चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रुखमुनि बसेका नेपालीलाई चट्याङ लागेको थियो भने थापालाई आँगनमा हात धुँदै गर्दा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर पाङ्ग्राङ विवेक क्षेत्री, अनिल नेपाली, मनोज नेपाली घाइते भएका छन् भने फलामखानीका नन्दु थापा, चन्द्रबहादुर थापा, कमला सुनार र माया सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।