देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरत गर्दै काँग्रेस

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बेलुका बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिका तथा जिल्लास्थित पार्टीको संयन्त्रले टुङ्गो लगाउन नसकेका स्थानीय तहमा पार्टीका उम्मेदवारको नाम टुङ्गो लगाउने बारेमा वृहत छलफल गरेको छ । काँग्रेसले यसअघि महानगरपालिका र उपमहानगरपालिकाको केन्द्रले र बाँकी तहमा जिल्लास्थित पार्टीको संयन्त्र बनाई उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो ।
तर उम्मेदवार मनोनयनको समय नजिकिँदासमेत अधिकांश स्थानीय तहमा उम्मेदवारको टुङ्गो लागिनसकेका कारण केन्द्रले नै टुङ्गो लगाउने बताइएको छ । निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ । काँग्रेसले सोमबारसम्म निर्वाचन हुने सबै तहमा पार्टीका उम्मेदवारको टुङ्गो लागिसक्ने जनाएको छ । वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ ।

बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र काँग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट दिनुभएको राजिनामा सम्बन्धमा समेत वृहत छलफल भएको पार्टी कार्यालयले जनाएको छ । काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदले हस्ताक्षर गरी आज व्यवस्थापिका–संसद् सचिवालयमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । साथै सोही विषयलाई लिएर उपप्रधानमन्त्री निधिले पदबाट आजै पदबाट राजिनामा गरेका छन् । बैठकमा यी बिषयमा पनि छलफल भएको बताइएको छ ।