देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाभियोग डटेर सामना गर्छु : सुशील कार्की

देशान्तर

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसदमा दर्ता भएको महाभियोग प्रस्तावले आफू आफू कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिएकी छन् । उनले यसको डटेर सामना गर्ने समेत बताइन् । प्रधानन्यायाधीश कार्कीले महाभियोगले आफूलाई केही पनि फिल नभएको बताएकी छन् । तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नको जवाफमा कार्कीले भनेकी छन्, ‘मलाई त केही फिल नै भएको छैन । ममाथि महाभियोग लाग्छ भन्ने पहिल्यै थाहा थियो ।’

उनले यही विषयमा कुरा गर्न माओवादी सांसद् रामनारायण बिडारीले पटक– पटक भेटका लागि समय मागेको तर आफूले समय नदिएको बताएकी छन् । ‘केही दिनयता माओवादी सांसद् रामनारायण बिडारीले मलाई पटक–पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ, एकपटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिन्’, कार्कीले भनेकी छन् । कार्कीले बिडारीलाई भेट्न आफूले इन्कार गरेपछि प्रधानमन्त्रीले आइतबार बिहानै पनि दूत बनाएर वर्षमान पुनलाई निवासमा पठाएको तर आफूले नभेटेको प्रष्ट पारेकी छन् ।

आफूले नभेटेपछि वर्षामान श्रीमानलाई भेटेर फर्केको उनले बताएकी छन् । ‘उहाँहरुले मलाई जे आरोप लगाएर महाभियोग दर्ता गर्नुभएको छ, त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ । तर, मैले न्यायप्रतिको निष्ठा र इमान्दारितामा कहिल्यै सम्झौता गरेकी छैन’ , कार्कीले आफ्नो निडरता व्यक्त गर्दै भनेकी छन् । कार्कीले कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोपको समेत खण्डन गरेकी छन् । नागरिक दैनिकमा समाचार छ ।