देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकाबाट ५० मेट्रिक टन फोहर व्यवस्थापन

देशान्तर

काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हजार २८० व्यक्तिको सहभागिता थियो । वाग्मती सफाइ महाअभियानको २०७ औँ हप्तामा शनिवार
थापाथली पुलमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५५० जनाको सहभागिता रहेको अभियन्ता उमेश बोहराले जानकारी दिए।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति लगायत संस्थाको संस्थागत सहभागिता थियो ।

पूर्वसचिव डा कृष्णचन्द्र पौडेलले सपथ खुवाएपछि सफाइ सुरु भएको थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ सुरु भएको १६८ औँ हप्तामा शनिवार गोठाटार पुल मुनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले अयोजना गरेको सफाइमा २०० व्यक्तिको सहभागिता थियो ।

रुद्रमती सफाइको १६६ औँ हप्तामा शविार रातोपुलबाट सेतोपुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा सेना, प्रहरी, सशस्त्र प्रहरी बललगायत रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियानको सहभागिता थियो । विष्णुमती सफाइको १३८ औँ हप्तामा शनिवारतारकेश्वर नगरपालिकामा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५०० जनाको सहभागिता थियो ।

विष्णुमती सफाइमा शनिवार पहिलोपटक नेपाली सेना पनि सहभागी भएको छ । तिलगङ्गा महिला समूहले तिलगङ्गामा आयोजना गरेको ११५ औँ हप्ताको वाग्मती सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ३० जना महिलाको सहभागिता थियो ।चक्रपथ सफाइको तेस्रो साता शनिवार बसुन्धरा क्षेत्रमा सफाइ गरी २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइमा ७०० स्वयम्सेवक सहभागी थिए । विसं २०७० जेठ ५ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान र त्यसपछि सुरु भएका उपत्यकाका विभिन्न नदी सफाइ अभियानमा हालसम्म सात लाख २१ हजार ९३० स्वयम्सेवकले सहभागिता जनाएका छन् ।

उपत्यकामा वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई पोखरा, झापा र तुलसीपुरलगायत २६ स्थानमा सफाइ भइरहेको छ । यी अभियानबाट दश हजार ४९७ फोहर व्यवस्थापन भएको सफाइ महाअभियानले जनाएको छ । आगामी शनिबार २०८ औँ हप्ताको वाग्मती सफाइ थापाथली पुल पारि ललितपुरतर्फ हुने पनि शनिवारको सफाइका अवसरमा जानकारी दिए ।