देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शुल्क वृद्धि १५ दिनभित्रमा फिर्ता हुने भएपछि संयुक्त विद्यार्थी आन्दोलन स्थगित

देशान्तर

काठमाडौँ । निजी विद्यालयको शुल्क वृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । शिक्षामन्त्री धनीराम पौडेल र आन्दोलनरत विद्यार्थीबीच चार बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियु (क्रान्तिकारी)का सचिवालय सदस्य डिवी साउदले जानकारी गराए ।

उनका अनुसार शिक्षा मन्त्रालयले शिक्षा नियमावली र निर्देशिका विपरीत विद्यालयले लिइएको शुल्क १५ दिनभित्र फिर्ता गराउने, शिक्षा नियमावली २०५९ र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कडाइका साथ कार्यान्वयन गराउने तथा शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगर्ने विद्यालयको दर्ता खारेजी गर्ने सहमति भएको छ ।

यसैगरी मन्त्रालयलाई सुझाव दिनका लागि विद्यार्थी सङ्गठनसमेतको संलग्नतामा मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक संवाद समिति समेत गठन गर्ने सहमति भएको छ । साउदले शुल्क वृद्धिको विरोधमा लगाइएका ताला शनिबार खोलिने जानकारी गराए ।

छलफलमा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नविना लामा, अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङलगायतको उपस्थिति रहेको थियो ।

मङ्गलबारदेखि निजी विद्यालयले वृद्धि गरेको शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थी सङ्गठन आन्दोलित भएका थिए । उनीहरुले शुल्क फिर्ताको माग गर्दै आज शिक्षा विभाग, जिल्ला शिक्षा अधिकार तालाबन्दी गरेका थिए ।