देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जथाभावी बाटो काटे २ सय रुपैया जरिवाना

देशान्तर

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २०० जरिवना गर्नेभएको छ । महाशाखाले शुक्रवारदेखि यो नियम लागु गरेको हो । बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’मा उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रु मरेको भन्दै यसको न्यूनीकरणका लागि आगामी जेठ १ गतेदेखि जरिवना गर्न लागेको हो । महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त एवम् प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले राज्यले ट्राफिक क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले भने–‘जेब्राक्रसिङमा चालक र यात्रु दुबै सचेत भएमात्र दुर्घटनामा कमी आउँछ ।’

भण्डारीले सडकमा छाडा गाईबस्तु छोड्दा धेरै दुर्घटना भएको भन्दै यसबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले काठमाडौँलाई शान्त र सुन्दर सहर बनाउनका लागि महानगरपालिका लागिपरेको बताए । उनले भने–‘महानगरपालिकाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिनुका साथै हाल रातिको समयमा सडक पखाल्ने काम गरिरहेको छ ।’

महाशाखाका प्रमुख मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये अधिकांश मोटरसाइकल र स्कुटरबाट हुने भएकाले यसको न्यूनीकरणका लागि यो अभियान चलाएको बताए । उनले सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत जनचेतना कार्यक्रम सञ्चालन गरिएको बताए । त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष अजय राईलगायतले नियम सञ्चालनसँगै कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिए ।