देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री रेणु

देशान्तर

चितवन । सत्तारुढ नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डकी छोरी रेणु दाहाल उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी माओवादी केन्द्रकी पालिटब्यूरो सदस्यसमेत हुन्। महानगरमा रेणुका अलावा प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार एवम् पूर्वसभासद् नारायण दाहाल, अर्का नेता तथा पूर्व जिल्ला इञ्चार्ज सुर्य सुवेदी पथिक, हालका सह–इन्चार्ज घनश्याम दाहाल ‘अविनास’, ठाकुर ढकाल, व्यवसायी मित्रराज दवाडी र नारायणसिंह कुँवरको नाम चर्चामा थियो।

यस्तै उपप्रमुखमा सुरेन्द्र गुरुङले टिकट पक्का गरेका छन्। उपप्रमुखमा ईश्वर सापकोटा र यमबहादुर परियार पनि आकांक्षी रहेका थिए। प्रमुख र उपप्रमुखको उम्मेदवारसम्बन्धी अन्तिम निर्णय बिहीबार भएको पार्टीका महानगर संयोजक ईश्वर सापकोटाले जानकारी दिए। माओवादी केन्द्रले चितवनका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ।

रत्ननगर नगरपालिकाको प्रमुखमा पूर्ण अम्गाईँ र उपप्रमुखमा संगिता भट्टराईलाई उम्मेदवार बनाइएको छ। खैरहनी नगरपालिकाको प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती, माडी नगरपालिकाको प्रमुखमा ठाकुर ढकाल र उपप्रमुखमा सरिता महतो, कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उप्रमुखमा सविता लामा तथा राप्ती नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामालाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला संयोजक यमबहादुर परियारले जानकारी दिए। यता इच्छाकामना गाउँपालिकाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमा सावित्रा सिलवाल उम्मेदवार बनेका छन्।