देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छन्त्याल जातिले नै बिर्से आफ्नो भाषा

देशान्तर

म्याग्दी । अत्यन्त न्यून सङ्ख्यामा रहेका र म्याग्दी जिल्लामा मुख्य बसोबास गरेका छन्त्याल जातिले आफ्नो छन्त्याल भाषा भुल्दै जान थालेका छन् ।

छन्त्याल जातिको मुख्य बसोबास रहेको म्याग्दी जिल्लामा कतिपय छन्त्याल जातिका मानिसले आफ्नो मातृभाषा भुलिसकेको बताएका छन् । नेपालमा रहेका थुप्रै जातजातिले भाषा संस्कृति जगेर्नामा लागिरहँदा जिल्लाको अधिकांश गाविसमा बसोबास गर्ने छन्त्याल जातिले भाषा बिस्तारै भुल्न थालेका छन् ।

म्याग्दीको सदरमुकाम तथा विकट ग्रामीण बस्तीमा बसोबास गर्ने छन्त्यालले घरपरिवारमा आफ्नो भाषा प्रयोग नगरेका कारण भाषा भुल्दै गएका र बालबालिकाले समेत भाषा नजानेको बेनी सामुदायिक माविका शिक्षक हरि छन्त्यालले बताए। भाषा प्रयोगमा पछिल्लो पुस्ताले हीनताबोध गर्नुले भाषा लोप भएको छन्त्यालको भनाइ थियो ।

छन्त्याल जातिले बोल्ने भाषामा कमी आउनुको मुख्य कारण समुदायमा जातजातिको मिश्रित बसोबास, विद्यालयमा अङ्ग्रेजी र नेपाली भाषामा मात्र पठनपाठन हुने भएकाले भाषा लोप भएको नेपाल छन्त्याल सङ्घ म्याग्दीका पूर्वअध्यक्ष मुकुन छन्त्यालले बताए।

छन्त्यालले भने, “घरपरिवारमा मातृभाषा नबोल्नु, साथीभाइसँगको भेटघाटमा नेपाली भाषा प्रयोग गर्नुले छन्त्यालले भाषा भुल्दै गएको हो ।” यसरी भाषा प्रयोगमा कमी आउँदै जाने र भाषा बिर्सिंदै जाने हो भने पहिचान दिन गाह्रो हुने अघिल्ला पुस्ताका छन्त्यालको ठम्याइ छ । बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको मुलुकमा भाषा संरक्षणमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।