देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चासँगको समझदारी राजनीतिक समाधानका लागि कोसेढुङ्गा- थापा

देशान्तर

विराटनगर । उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चासँगको समझदारी राजनीतिक समाधानका लागि कोसेढुङ्गा साबित हुने बताउनु भएको छ ।

राप्रपा मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री थापाले मधेसी मोर्चासँग भएको समझदारीले मुलुकको राजनीतिमा नयाँ मोड आएको र सो समझदारी इमान्दारीपूर्वक कार्यान्वयन भए मुलुकमा देखिएको लामो समयसम्मको गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मधेस केन्द्रित दल संविधानतः राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गरेपछि मुलुकमा प्रजातन्त्र स्थायित्व हुनाका साथै शान्ति र मुलुकले विकासको गति अगाडि बढ्ने धारणा राख्नुभयो ।

नेकपा एमालेलाई विश्वासमा लिई मोर्चासँग भएको सहमति कार्यान्वयनमा जाने स्पष्ट पार्दै उहाँले संविधान कार्यान्वयनका लागि मोर्चालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने कार्यमा एमाले बाधक नबन्ने विश्वास व्यक्त गर्नुभयो ।

दोस्रो चरणको निर्वाचनका लागि मिति तय हुने जानकारी गराउँदै उहाँले निर्वाचन आयोगले व्यावहारिक रुपमा दर्ता भएका दललाई एकै चुनाव चिह्न प्रदान गर्नुपर्ने बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सिद्धान्ततः देशभरि जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या कायम गर्नुपर्ने भए पनि अहिले मोर्चाको माग सम्बोधन गर्न केही प्रदेशमा मात्रै सङ्ख्या थप हुने प्रस्ट पार्नुभयो ।