देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई हजार बढी बालबालिका विद्यालय बाहिर

देशान्तर

तुलसीपुर । दाङमा विद्यालय जाने उमेरका दुई हजार बढी बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यालय भर्ना अभियानका लागि राज्यले बर्सेनि लाखौँ रुपैयाँ खर्च गरे तापनि राज्यको यो अभियान खासै प्रभाकारी हुन नसक्दा हाल जिल्लामा दुई हजार २ सय ८ जना विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर रहेका हुन ।

जिल्ला शिक्षा कार्यलय दाङका अधिकृत देवमणि चौधरीले हालै शिक्षा कार्यालय दाङले गरेको सर्वेक्षणमा गरिबीका कारण एक हजार ५२ जना, घरदेखि विद्यालय टाढा हुँदा एक हजार ६२ जना, भाषाको समस्याका कारण ३१ जना र अन्य कारणले गरी विद्यालय जाने उमेरका दुई हजार २०८ जना बालबालिका, विद्यालयको पहुँचभन्दा बाहिर रहेको जानकारी दिनुभयो ।

अभिभावकले सधैँ मजदुरी गर्नुपर्ने, बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्री खरिद गर्न नसक्ने र घरायसी काम गर्नुपर्ने बाध्यता रहेको र त्यसको मुख्य कारण गरिबी रहेकोले आफूहरूले छोराछोरीलाई पठाउन नसकेको बताएका छन् ।

शिक्षा कार्यालयले दुई हजार बढी बालबालिका विद्यालयको पहुँच बाहिर रहेको जानकारी दिए पनि जिल्लामा त्यो सङ्ख्याभन्दा धेरै बालबालिका विद्यालयको पहुँच बाहिर रहेको आँकलन गरिएको छ । दुईवर्ष अगाडि दाङमा १३ हजार बालबालिका विद्यालयको पहुँच बाहिर रहेका थिए ।