देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार जमानी बसेपछि निगमले वाइडबडी पाउने पक्का

देशान्तर

काठमाडौं । भिजन र निर्णय क्षमता अनि इच्छा शक्ति हुने हो भने विकासलाई राजनीतिक अस्थिरताले छेक्न सक्दैन भन्ने उदाहरण बनेको छ नेपाल वायुसेवा निगम । स्पष्ट लक्ष्य र भिजन बोकेर नेपाल वायुसेवा निगममा दोस्रो ‘इनिङ’ सुरु गरेका सुगतरत्न कंसाकारले आफूलाई फेरि एकपटक निर्णय क्षमता भएको कुशल व्यवस्थापक सावित गरेका छन् । कुनैबेला नेपाल टेलिकमलाई नेतृत्व गरेर त्यसको उचाई वृद्धि गरेका कंसाकारले डुबिसकेको नेपाल वायुसेवा निगमलाई छोटो अवधिमै नफामूलक सरकारी संस्थानमा परिणत गरेका छन् ।

उनकै लक्ष्य र भिजन अनुसार अब निगमले दुईवटा वाइड बडी हवाईजहाज पाउने निश्चित भएको छ । गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज खरिद गर्न आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेपछि निगमले जहाज पाउने निश्चित भएको हो । बैठकले निगमले लिने उक्त परिमाणबराबरको ऋणमा जमानी बस्ने निर्णय गरेको हो। सरकारले जमानी बस्ने निर्णय गरेपछि दुईटा वाइड बडी जहाजलाई आवश्यक रकम जोहो गर्ने झन्झटबाट निगम मुक्त भएको छ। विगतदेखि निगमले कर्मचारी सञ्चय कोषसँग ऋण लिन पटकपटक छलफल गर्दै आएको छ। बिहीबारको सरकारी निर्णयपछि ऋण सम्झौताको तयारी निगम व्यवस्थापनले अगाडि बढाइसकेको छ। यसै साता कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुने कंसाकारले देशान्तरलाई बताए । ऋणको ब्याजदर वार्षिक ९ प्रतिशत हुने समझदारी दुवै संस्थाबीच भइसकेको छ।निगमले सञ्चय कोषमात्र नभई नागरिक लगानी कोषसँग पनि ऋण लिने योजना बनाएको छ ।करिब २५ अर्ब ऋणमध्ये १५ अर्ब सञ्चय कोष र बाँकी १० अर्ब लगानी कोषसँग लिने भन्ने बारेमा छलफल चलिरहेको कंसाकारले जानकारी दिए ।

निगमले अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनसाग २०७३ चैत २५ गते काठमाडौंमा दुइटा वाइड बडी किन्ने सम्झौता गरिसकेको छ ।सम्झौताअुनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख अमेरिकी डलर (२१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ) पर्नेछ। सम्झौताअनुसार एएआरले पहिलो वाइड बडी २०७४ मंसिरमा र दोस्रोलगत्तै फागुन अन्तिमसम्ममा काठमाडौंका लागि रवाना भइसक्नेछ । ती जहाजका लागि निगमले दुई किस्तामा रकम पठाउने सम्झौता गरेको छ। पहिलो किस्तामा ८ करोड डलर (८ अर्ब २४ करोड रुपैयाँ) निगमले पठाउनेछ । दोस्रो किस्तामा बाँकी १२ करोड ९६ लाख डलर (१३ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ) पठाउनेछ।

निगमका अनुसार पहिलो वाइड बडी आगामी २०७४ मंसिरमा र दोस्रो वाइड बडी त्यही वर्ष फागुन अन्तिमसम्ममा काठमाडौं अवतरण गर्ने पक्कापक्की भएको छ। निगमले दुई थान वाइड बडी ल्याएर लामो दूरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ। त्यसैगरी साउदी अरबको दम्माम र अस्ट्रेलियाको सिड्नी उडान गर्ने योजना पनि निगमको छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सीधा ९ देखि १० घन्टा ‘नन्स्टप’ उडान गर्न सक्छ।

यसैबीच निगमको व्यवस्थापन र व्यापारमा व्यापक सुधार भएपछि यसको रणनीतिक साझेदार बन्न जर्मनीको लुफ्थान्सा कन्सटिङ कम्पनी तयार भएको छ । कंसाकारकै योजना अनुसार नागरिक उडड्यन मन्त्रालयले लुफ्थान्सालाई पत्राचार गरेको थियो । उक्त पत्राचारको जवाफ दिदै निगमको रणनीतिक साझेदार बन्न तयार रहेको आशयपत्र पठाएको मन्त्रालय स्रोतले जानकारी दियो । मन्त्रालयले आह्वान गरेको टेण्डरमा एकमात्र अन्तर्राष्ट्रिय कम्पनी लुफ्थान्साले आशय पत्र पठाएको हो । मन्त्रालयले १० वर्षसम्म एक पटक निर्णय भएको अवस्थामा साझेदारी निरन्तर रहन सक्ने गरी प्रस्ताव गरेको थियो ।