देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्यास निस्किएको सिरुटारको क्षेत्र संरक्षण गर्न उद्योगमन्त्रीको निर्देशन

देशान्तर

भक्तपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित गत मङलबार ‘डिपबोरिङ’ गर्ने क्रममा ग्यास निस्किएको क्षेत्रमा तारबार गरी संरक्षण गर्न निर्देशन दिए । ‘डिपबोरिङ’ गर्ने क्रममा जमिनबाट ग्यास निस्किएर आगलागी भएको स्थानको अवलोकन गर्दै मन्त्री जोशीले एक साताभित्र ग्यास निस्किएको क्षेत्रमा तारबार गरी उचितरुपमा संरक्षण गर्न निर्देशन दिएको हो ।

मन्त्रीसँगै अनुगमनमा गएको खानी विभागअन्तर्गत प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुखलगायतको टोलीले उक्त क्षेत्रलाई तारबार गरी संरक्षण गर्ने भएको छ । डिपबोरिङ गरेको ठाउँबाट ग्यास निस्किएर आगलागी भएको क्षेत्रलाई हाल माटोले पुरिएको भएपनि अझै प्राकृतिक मिथेन ग्यास निस्किरहेकाले तारबार गरेर संरक्षण गर्नुपर्ने प्राकृतिक तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले बताए ।

डिपबोरिङमा प्रयोग भएको पाइप अझै नझिकिएकाले पाइप निकालेर ग्यास निस्किएको ठाउँलाई प्लास्टर गरेर बन्द गरी सुरक्षित गर्नुपर्ने उनले बताए । जमिनबाट ग्यास निस्किएको क्षेत्र आसपासको एक सयदेखि डेढसय मिटरमा ड्रिल गरी अध्ययन गरी प्राकृतिक ग्यासको मात्रा पत्ता लगाउन सकिने उनले बताए । ग्यास निस्किएको क्षेत्रमा कुुनैपनि बेला आगलागी हुनसक्ने जोखिम भएकाले त्यस क्षेत्रमा मङ्गलबारदेखि नै सुरक्षाका लागि प्रहरी खटाइएको छ ।