देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वार्षिक पाँच करोडको च्याउ बिक्री

देशान्तर

भद्रपुर । झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्से्नि करिब रु दुई लाखदेखि रु तीन लाखसम्मको कारोबार गर्ने गरेको बताइएको छ ।

च्याउखेतीका लागि गाउँघरमै बीउ पाउन थालेपछि च्याउ उद्यमीको सङ्ख्या बढ्दै गएको वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी बताउछन् । गर्मी समयमा २२ दिनामा तथा जाडोको समयमा करिब ३० दिनमा तयार हुने च्याउ बजारमा प्रतिकिलो रु १०० मा बिक्री हुने गरेको छ ।

उपभोक्ताले डल्लोखालको च्याउ बढी मन पराउने गरेका छन् । एक प्याकेट च्याउको बीउको मूल्य रु ३० पर्छ भने यसबाट लगभग तीन किलो च्याउ उत्पादन गर्न सकिन्छ । बिर्तामोडको पाथीभरा च्याउ उद्योग र चन्द्रगढीको विज्ञान च्याउ उद्योगले च्याउको बीउ उत्पादन गर्छन् ।

पाथीभरा च्याउ उद्योगका सञ्चालक रमेश खत्री विगत पाँच वर्षदेखि बीउ उत्पादन गर्दैआएको बताउछन् । वार्षिक करिब रु ४० लाखको बीउ बिक्री गर्ने गरेको उनको भनाई छ । च्याउको बीउ उत्पादन गर्न सरकारले ९० प्रतिशत अनुदानमा करिब रु सात लाख मूल्य पर्ने दुई थान शीतभण्डार गर्ने मेसिन उपलब्ध गराएको छ ।