देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरीद्वारा ७० बिगाहा क्षेत्रफलको अफिम नष्ट

देशान्तर

रुकुम । दुई सातामा प्रहरीले यहाँका विभिन्न ठाउँमा अवैध रुपमा ७० बिगाहा क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको छ । जिल्ला प्रहरीले १३५ जना प्रहरी परिचालन गरेर विभिन्न ठाउँमा लगाइएको अवैध लागुऔषध अफिम खेती नष्ट गरेको बताएको छ ।

जिल्ला प्रहरीबाट ८० र अन्य इलाका तथा चौकीबाट थप गरी १३५ बढी प्रहरी परिचालन गरी फूल खेल्दै गरेको अवैध खेती अफिम नष्ट गरिएको जिप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनका अनुसार जिल्लाका गोतामकोट, स्यालाखदी, आठबिसकोट, मग्मा, बाँफिकोट, स्यालापाखा, जाङ, सिस्ने हुकामलगायतका विभिन्न ठाउँमा खेती गरिएको अफिम नष्ट गरिएको हो ।

यसभन्दा पहिले जिल्लाभर ४० बिगाहा क्षेत्रफलमा मात्रै अफिम खेती लगाएको भन्ने सूचना आए पनि अझै बढी क्षेत्रफलमा लगाएको हुन सक्ने उनको अनुमान छ । ७० बिगाहा क्षेत्रफलको अफिम नष्ट भए पनि अन्य क्षेत्रमा पनि अफिम भएको सूचना आएकाले त्यता पनि जाने योजना बनाएको प्रहरीको भनाइ छ ।

अफिम नष्ट गरे पनि प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । अफिम नष्ट गर्दा प्रहरीलाई स्थानीयवासीले सहयोग नगरेको उनीहरूको भनाइ छ । यस अभियानमा प्रहरीलाई पानी खानसमेत स्थानीयवासीले नदिएको एक प्रहरी अधिकृतले बताए ।