देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँच दल बैंठकको निर्णयः मोर्चा आए दुई चरणमा, नत्र चुनाव नरोक्ने

देशान्तर

काठमाडौं । प्रमुख पाँच राजनीतिक दलले वैशाख ३१ मै निर्वाचन गर्ने निर्णय गरेका छन् । तर आन्दोलनरत मधेशी मोर्चाले चुनावमा सहभागिता जनाउने भएमा दुईचरणमा चुनाव गर्न सकिने बाटो समेत खुल्ला राखेको छ । प्रमूख पाँच दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नेपाल लोकतान्त्रीक फोरमका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्ने निर्णय गरेका हुन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बसेको बैठकले निर्धारित मितिमै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले स्थानीय तहको निर्वाचन पूर्व नै मधेशी मोर्चालाई पनि सहमतिमा ल्याउन वार्ता र सम्वादको प्रक्रिया जारी राख्ने निर्णय गरेको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन, मधेशी मोर्चाले उठाएका माग र संविधान संशोधनका विषयमा छलफल भएको प्रधामन्त्रीका राजनीतिक सल्लाहाकार चक्रपाणी खनाल बलदेवले बताएका छन् । बैठकले बैशाख ३१ मै निर्वाचन सम्पन्न गर्न मधेशी मोर्चालाई पनि निर्वाचनमा ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउने र निर्वाचनका लागि थप अनुकूल वातावरण बनाउने निर्णय गरेको छ। मोर्चाको सहभागितका सुनिश्‍चित भएमा त्यही सर्त राखेर दुई चरणमा गर्न सकिने बारेमा पनि सकारात्मक छलफल भएको छ।

दाहालले पनि बैठकमा त्यही आशयको प्रस्ताव राखेका थिए। बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, नेता वर्षामान पुन ‘अनन्त’, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार, आपूर्तिमन्त्री दीपक बोहरा लगायतका शीर्ष नेताहरु उपस्थिती रहेको थियो ।