देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले डाके एमाले सहित पाँच दलको बैठक

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जाँदापनि निर्वाचनमा देखिएको अन्यौलका बारेमा छलफल गर्न एमाले सहित मुख्य पाँच दलको बैठक बोलाएका छन् । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले सरकारमा रहेका तीनवटा दल र सरकार बाहिर रहेका दुईवटा गरि पाँच दलका शीर्ष नेताको बैठक बोलाएका छन् । सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपा त्यसैगरि सरकार बाहिर रहेका मुख्य विपक्षी दल नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् । स्थानीय चुनावको मिति नजिकिँदै गएको र आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनले चुनाव बिथोल्ने भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुनेछ।

सत्तारुढ दलका नेताहरुले मधेसी मोर्चा सहभागी हुने भए चुनाव दुई चरणमा गर्दा पनि हुने सार्वजनिक अभिव्यक्ति दिइरहेको र एमालेले त्यसलाई चुनाव सार्ने चालबाजी भनिरहेका बेला प्रधानमन्त्री दाहालले प्रतिपक्षीसहितका प्रमुख दलका नेतासँग छलफल गर्न लागेका हुन्।