देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको चुनाव क्षेत्रमा कांग्रेसको बिशाल आमसभा, घोषित मितिमा नै निर्वाचन हुने नेताहरुको दाबि

देशान्तर

झापा । नेपाली कांग्रेसले मुख्य विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र रहेको झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालामा बिशाल आमसभा गरेको छ । सो आमसभामा बिभिन्न पार्टी परित्याग गरेर झण्डै एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ । काँग्रेसले प्रदेश नम्वर १ को वृहत आमसभा झापामा गरेको हो । यो काँग्रेसले पूर्वकै सवैभन्दा ठूलो आमसभा भएको बताएको छ । आदिवासीहरुको चिहान रहेको सो स्थानलाई रंगशाला बनाउन आदिवासीहरुले सहमति जनाएका थिए ।

करिव हजार जनाको शब गाडिएको चिहानस्थललाई मासेर आदिवासीहरुले आदिवासीको नाममा रंगशाला बनाउन सहमति जनाएका थिए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि सो आदिवासीका नाममा बनाउन तय गरिएको रंगशालालाई एमालेका पूर्व महासचिव मदन भण्डारीको नाममा नामाकरण गरि बजेट विनियोजन गरेको थियो । आफ्नो आदिवासी नामलाई मेटेर पार्टीका नेताको नाममा वजेट विनियोजन गरिएपछि यस क्षेत्रका आदिवासीहरु अहिले पनि त्यस विरुद्ध रहेका स्थानमा कांग्रेसले गरेको चुनावी आमसभालाई रणनीतिक रुपमा लिइएको छ । आमसभामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताए । सभापति देउवाले आन्दोलनरत मधेसवादी दललाई समेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास दिलाए ।

सभापति देउवाले वर्तमान सरकारले संसदमा पुनः संविधान संशोधनको प्रस्ताव दर्ता गरेर मधेसका भावनालाई समेट्न चाहेको र त्यसलाई मधेसवादी दल र एमालेले समेत सहयोग गरेर निर्वाचनको माहोल थप बनाउनुपर्नेमा जोड दिए । घोषित मितिमा नै निर्वाचन हुने उल्लेख गर्दै सभापति देउवाले दुई दशक जनप्रतिनिधिविहीन स्थानीय तहमा जनताको प्रतिनिधि चुन्ने अवसरलाई सदुपयोग गरेर जानु नै सबैको राष्ट्रिय दायित्व भएको जोड दिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका सबैखाले हकअधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने भएकाले निर्वाचनमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिए ।

महामन्त्री शशाङ्क कोइरालाले मधेसवादी दललाई समेटेर गएमात्र निर्वाचनले सार्थकता पाउने भन्दै त्यसका लागि दलीय सहमति निर्माण गर्न ढिलाइ गर्न नहुने बताए । नेता कृष्णप्रसाद सिटौलाले वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुकले आर्थिक, सामाजिक प्रगति हासिल गर्ने बताए । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघ ७ गतेभित्रमा तीनवटै तहको निर्वाचन गराउनु वर्तमान सरकारको प्रमुख कार्यभार भएको जोड दिए । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू शेखर कोइराला, मीन विश्वकर्मा, भीष्मराज आङदम्बे, नेवि सङ्घका सभापति नैनसिंह महर, तरुण दलका सभापति जीतजङ बस्नेत, महिला सङ्घकी सभापति उमा रेग्मी, प्रदेश १ का १४ वटै जिल्ला सभापतिलगायतले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन कार्यकर्तालाई आग्रह गरे ।