देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्प प्रतिरोधी घर समुदायलाई हस्तान्तरण

देशान्तर

बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका पिपलटारमा निर्माण भएका ८७ भूकम्प प्रतिरोधी घर मंगलवार समुदायलाई हस्तान्तरण गरिएको छ ।
पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैँडाले स्थानीय वेदबहादुर दनुवार र रानुकी दनुवारलाई संयुक्त रुपमा सो घर हस्तान्तरण गरे ।

‘ह्याबिटयाट फर ह्युम्यानिटी’ नेपालको प्राविधिक तथा आर्थिक सहयोग र फर सस्टेनेबल डेभलपमेन्ट नेपालको साझेदारीमा निर्माण भएको एउटा घरको लागत रु आठ लाख छ । विसं २०७२ भदौ ३ गते सुरु भएको घर निर्माणको कार्य विसं २०७३ चैतमा सम्पन्न भएको थियो ।

सो अवसरमा प्रमुख गैँडाले सरकारबाट मात्रै सबै कुरा सम्भव नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय दाताको समेत सहयोग आवश्यक भएको उल्लेख गर्दै सीमान्तकृत समुदायलाई सरकारले प्राथमिकतामा राखेर काम गरेको बताए ।

गैर सरकारी संस्था ह्याबिटयाटका अधिकृत समिरराज दनुवारले परम्परागत रुपमा निर्माण भएका घर विस्थापन भएर नयाँ घरमा बस्न पाएको र त्यस क्षेत्रमा भूकम्पपीडितका लागि जीविकोपार्जनको काम समेत भइरहेको बताए ।

स्थानीय शारदा दनुवारले पुस्तौँपुस्ताका लागि हुने घर निर्माण भएको उल्लेख गर्दै जीविकोपार्जनका लागि सीप सिकेर दक्ष भएको समेत जानकारी दिए ।
एकिकृत नमुना गाउँविकास परियोजना अन्तर्गत पाँचखालको अन्य ठाउँमा पनि यस्तै खालको २५० घर निर्माण गर्ने योजना रहेको सो अवसरमा जानकारी गराइएको हो ।