देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाईपालन व्यवसायतर्फ युवा आकर्षित

देशान्तर

इलाम। फाकफोकथुम गाउँपालिका–२ का रूद्रबहादुर थापाले गाउँमै व्यावसायिक गाईपालन सुरु गरे ।

थापाले मिलन गाईफार्म दर्ता गरेर रु १२ लाखको लागतमा गाईपालन व्यवसाय थालेको हो । पाँच माउ गाईबाट व्यवसाय थालेका उनले यसअघि डेरी उद्योग सञ्चालन गरे ।

उनले रु एक लाखका दरले गाई खरिदगरेको हो । होलिस्टिन जातका गाईले दैनिक १२ देखि १५ लिटरसम्म दूध दिने गरेका छन् । विसं २०६० देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका थापाले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक ३५० लिटर दूध प्रशोधन गर्छन ।

गाईभैँसीलाई कुँडो, खोलेपानी, घाँस पराल गर्ने कामदारलाई उनले मासिक रु १५ हजार पारिश्रमिक दिन्छन् । “विदेशमा कमाइने पैसा यही आर्जन गर्न सकिन्छ,” उनले भने। उनको डेरी उद्योगबाट उत्पादित घ्यू, छुर्पी झापाको बिर्तामोडमा बिक्री हुन्छ । यहाँको छुर्पी कुकुरको आहाराका लागि अमेरिकासम्म पुग्न थालेको छ । गाउँबाटै छुर्पी प्रतिकिलो रु ८०० र घ्यू रु ५०० मा बिक्री हुन्छ ।

पछिल्लो समय यहाँको गाउँ गाउँमा डेरी उद्योग सञ्चालनमा आएका छन् । फाकफोकथुम–२ का किशोर शर्माले पाँच माउ गाईपालन सँगै डेरी उद्योग सञ्चालन गरेको हो । दुई वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएका शर्मा गाउँमै मनग्य आम्दानी गर्न सफल भए । मासिक रु २० हजारदेखि रु २५ हजारसम्म आम्दानी हुने गरेको शर्माले बताए ।

जिल्ला पशुसेवा कार्यालयले व्यवसाय सञ्चालन गर्न युवाका लागि अनुदानको व्यवस्था गरेको छ । जिल्लामा दैनिक ५० हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताए ।