देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरकारीबाटै आत्मनिर्भर

देशान्तर

डडेल्धुरा, ५ वैशाख । पुरुषको आम्दानीमै भर पर्दै आएका अमरगढी नगरपालिका–७ पोखराका महिला आजभोलि तरकारीखेती गरी आफैँ आत्मनिर्भर बन्दै गएका छन् ।

यहाँका महिला तरकारी खेतीबाट वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । मनग्य आम्दानी हुन थालेपछि भट्गाउँ, सिरोला, जोशीगाउँ, भाटगाउँ लगायतका महिला तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

अमरगढी–७ पोखराका अगुवा तरकारी व्यवसायी कौशिला भण्डारी सिमला, लौका, काँक्रा, तितेकरेला बिक्री गरी मासिक रु २० देखि रु ३० हजारसम्म आम्दानी गरिरहेको बताए । यस्तै महादेव कृषक समूहका अध्यक्ष जानकी विक कैनी पनि तरकारीकै आम्दानीले परिवार पालिरहेको बताउछन् ।

आलु, काउली, फर्सी, प्याज, बन्दागोभी, सिमला, भिन्डी, काँक्रा, लौका, तितेकरेला लतगायत तरकारी खेती गर्दै आएका उनीहरु अन्न बालीबाट वर्षको छ महिना पनि खान नपुग्ने भएकाले घर खर्चदेखि छोराछोरीको पढाइका लागि तरकारीखेतीको भर पर्नुपरिरहेको बताए ।

यहाँका महिला अन्य व्यवसाय छोडेर जमिन भाडामा लिई तरकारी खेती गर्न थालेका छन् । साना सिँचाइ कार्यक्रम सुरु भएपछि तरकारी खेती गर्न सजिलो भएको उनीहरुको भनाइ छ । पोखरालगायत जिल्लाको विभिन्न क्षेत्रका कृषकलाई सिँचाइ तथा तरकारीमा प्राविधिक सहयोग दिइरहेको बहुउद्देश्यीय विकास समाजको अनुकूलन परियोजनाका कृषि प्राविधिक मुकेश साउदले जानकारी दिए ।

किसानलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए ।