देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिको भारत भ्रमणको दोश्रो दिनः सवै राजनीतिक भेटवार्ता आजै सकिने

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारत भ्रमणको दोश्रो दिन सवै राजनीतिक भेटवार्ता सक्ने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार सवै महत्वपुर्ण राजनीतिक भेटवार्ता आजै सकेर बुधवार र विहिवार भारतको राजधानी दिल्ली बाहिर जाने कार्यक्रम रहेको छ । मंगलवार राष्ट्रपति भण्डारीको नयाँदिल्लीमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता हुँदैछ । राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको छ । सो कार्यक्रममा भारतिय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदी एक साथ उपस्थित हुनेछन् ।

राष्ट्रपति भण्डारीको भारत भ्रमणको औपचारिक भेटघाट कार्यक्रम मंगलवार  नै सकिने र बुधबार र विहीबार उनी दिल्ली बाहिर रहनेछिन् । बिहान ९ बजे राष्ट्रपति भवनलाई राष्ट्रपति भण्डारीलाई गार्ड अफ अनर स्वागत कार्यक्रम राखिएको छ, जसमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदी दुबैले स्वागत गर्नेछन् ।

त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा जानेछिन् । त्यस्तै १० बजे यमुना जैविक विविधता पार्कको अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहान साढे ११ बजे राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने सवा १२ बजे गृहमन्त्री राजनाथ सिंहले भेट गर्नेछन् ।

अपरान्ह पौने ४ बजे वित्तमन्त्री अरुण जेटलीले शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो उद्योगी व्यवसायीहरुलाई सम्वोधन गर्नेछिन् । मंगलबार बेलुका साढे ४ बजे प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भण्डारीवीच भेटवार्ता हुनेछ भने साढे ५ बजे उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेट गर्नेछन् ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीवीच साँझ साढे ७ बजे भेटवार्ता हुनेछ । लगत्तै भण्डारीको सम्मानमा मुखर्जीले रात्रीभोजको आयोजना गर्नेछन्, जहाँ दुबै देशका राष्ट्रपतिले सम्वोधन गर्ने कार्यक्रम छ । मंगलबार दिल्लीको औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारी बुधबार उडिसामा र विहीबार गुजरातमा बस्नेछिन् । उनले त्यहाँ सोमनाथ मन्दिर, द्वारिकाधीश मन्दिर आदिमा तीर्थाटन गर्नेछिन् ।

त्यस्तै उडीसामा विहीबार राष्ट्रपतिले लिंगराजा मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यहाँ उनले महिला सुदृढीकरण परियोजनाको अवलोकन गर्नेछिन् । राष्ट्रपति भण्डारीको टोली शुक्रबार उडिसाबाट दिल्ली हुँदै नेपाल फर्कने कार्यक्रम रहेको भ्रमण दलमा सहभागीले जानकारी दिएका छन् ।