देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै

देशान्तर

काठमाडौँ । नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो ।पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनःबिजुलीकै सहयताले माथितानी पुनः विद्युत् उत्पादन गर्ने गरिन्छ । छिमकी राष्ट्र चीनमा यस प्रकारका आयोजना बढी सञ्चालनमा छन् ।

लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिब एक सयदेखि तीन सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । बेगनास माथिल्लो र रुपा तल्लो तहमा पर्छ । विद्युत्को अध्याधिक माग हुने साँझको समयमा करिब चार घन्टा चलाउन मिल्ने गरी पिक स्टोरेज बनाउने प्रस्ताव प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगाडि सारेको हो ।

आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत् माग पूरा गर्ने ब्याट्रिकोरुपमा काम गर्ने प्राधिकरणको विश्वास छ । सरकारले गत साल फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा सङ्कटकाल तथा कार्यान्वयन दशकसम्बन्धी अवधारणामा समेत पम्प स्टोरेज आयोजनालाई अगाडि बढाउने विषय समावेश गरेको थियो ।

विसं २०७५ असारमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणपछि पनि पिक आपरको विद्युत् मागलाई पूरा गर्न गाह्रो हुने र ऊर्जाको विविधिकरणका लागि प्राधिकरणले पिक स्टोरेज निर्माण योजना अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
उहाँका अनुसार, बेगनास र रुपा तालबीचमा रहेको ५७ मिटर लामो प्राकृतिक बाँधलाई प्रयोग गरेर आयोजना निर्माण गरिने छ । कार्यकारी निर्देशक घिसिङले पम्प स्टोरेज आयोजना निर्माणका लागि अध्ययन भइरहेको र छिट्टै निष्कर्षमा पुगिने जानकारी दिए।

बेगनास तालको सञ्चित पानी त्यहीको प्राकृतिक बाँधमा प्रयोग गरी रुपा तालमा खसाएर विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ कार्यकारी निर्देशक घिसिङले भने ‘‘रुपा तालमा जम्मा भएको पानीलाई रातको समयमा पम्प गरी पुनः बेगनास तालमै खसालिने छ ।”

रुपा तालमा खसालिएको पानी पुनः बेगनासमा फर्काइने भएकाले त्यसले दुबै तालको हालको प्राकृतिक अवस्था, सौन्दर्य तथा जैविक अवस्थितिलाई कुनै पनि प्रभाव नपार्ने अध्ययनले देखाएको छ । कार्यकारी निर्देशक घिसिङले केही दिनअघि प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके सहितको प्राविधिक टोलीले आयोजनाको स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो ।

यस अघि काठमाडौँ विश्वविद्यालयको सिभिल तथा जियोमेटिक्स विभागका प्राडा रमेशकुमार मास्के नेतृत्वको टोलीले केहीवर्ष अघि गरेको अध्ययनले बेगनास–रुपा पम्प स्टोरेज जलविद्युत् आयोजनाबाट एक सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो ।
आयोजनाबाट साँझको पाँच घन्टा एक सय मेगावाट विद्युत् उत्पादन गर्नसक्ने देखाएको छ । विद्युत् उत्पादनपछि रुपाको पानी बेगनासमा फर्काउने कार्यका लागि पम्प चलाउन करिब १२५ मेगावाट विद्युत् आवश्यक पर्नेछ । रातको समयमा उल्लेख्य मात्रामा विद्युत् उपलब्ध हुने भएकाले त्यसमा कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ ।