देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 देशान्तर साप्ताहिक आजबाट ३५ औं वर्षमा

देशान्तर

२०७४ वैशाख ३ गतेको यो अंकको प्रकाशनसँगै देशान्तर साप्ताहिक ३५ औं वर्षमा प्रवेश गरेको छ । नेपालको पत्रकारिताको इतिहासमा एउटा साप्ताहिक पत्रिका निरन्तर रूपमा ३४ वर्ष प्रकाशन हुनु आफैंमा गर्वको विषय हो । ३४ वर्षको यात्रामा यस साप्ताहिकले अनेकौं आरोह–अवरोह, बाधा–व्यवधान, उतार–चढाव र उकाली–ओराली व्यहोरे पनि आफ्नो मिसनमा एकरत्ति पनि यो कहिल्यै विचलित नभएको पाठकसामु स्पष्ट छ । पञ्चायतको उत्तराद्र्ध, संसदीय प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन र गणतन्त्रसम्म आइपुग्दा लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारको पक्षमा अविचलित रहेको सर्वविदितै छ । अझ पञ्चायती क्रूर शासन र राजाको प्रत्यक्ष शासन देशान्तरको जीवनमा अविस्मरणीय रह्यो । तर पनि हामी हाम्रो निष्ठा र मिसनमा चट्टान झै अडिग रह्यांैं, लोकतन्त्रको पहरेदारको रूपमा स्थापित छौं ।

यसैबीच ६५ वर्षदेखिको जनचाहना रहेको जननिर्वाचित संविधानसभाबाट संविधान जारी गर्ने काम दोस्रो संविधानसभा चुनावबाट बनेको सभाले नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भयो । केही हदसम्म देशान्तरको मिसन पनि सम्पन्न भयो । तर संविधानसभाको करिब ९० प्रतिशत मतले जारी गरेको संविधान अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । अबको हाम्रो अभियान यो संघीय लोकतान्त्रिक, गणतान्त्रिक संविधानको सफल कार्यान्वयनमा सहयोग पुर्‍याउनु नै हुनेछ । यसको लागि २०७४ माघ ७ गतेसम्ममा तीनै तह (स्थानीय, प्रदेश र केन्द्रीय संसद्) को निर्वाचन सम्पन्न हुनु अनिवार्य छ । मधेसी मोर्चाको अनावश्यक ढिपी र उनीहरूलाई उकास्ने अदृश्य शक्तिको चलखेलले गर्दा संविधान कार्यान्वयन नहुने हो कि भन्ने उत्पन्न शंका क्षीण हुँदैछ ।

आफैं २० वर्षपछि घोषित स्थानीय तहको निर्वाचनले मुलुक चुनावमय भएको छ । संविधान कार्यान्वयनको लागि निर्वाचन अनिवार्य सर्त हो । संविधान शाश्वत र अपरिवर्तनीय दस्तावेज होइन, समयसापेक्ष यसको संशोधन हुँदै जान्छ । तर अनावश्यक रूपमा सधैं संशोधनको अड्डी कस्नु र ‘कमा, फुलिस्टप’ पनि परिवर्तन गर्नु हुँदैन भन्ने दुवै विचार अतिरञ्जित हो । यसलाई समन्वय र सहमतिमा ल्याउनै पर्छ । यसको नेतृत्व नेपालकै पहिलो प्रजातान्त्रिक र ठूलो दल नेपाली कांग्रेसले लिनुपर्छ । र, आफ्नो नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयन पनि उसकै नेतृत्वमा हुन जरुरी छ । त्यसको लागि निर्वाचन अनिवार्य सर्त हो । त्यसैले अबको देशान्तरको अभियान अनिवार्य निर्वाचन हुनेछ ।

नव वर्ष २०७४ को शुभारम्भसँगै देशान्तर मिडिया प्रा.लि.ले रेडियो देशान्तर १००.३ र ई–देशान्तर डट कम सुरु गरेको सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित र गौरवान्वित भएका छौं । सञ्चार माध्यममा विद्युतीय र अनलाइन पत्रकारिताको बढ्दो प्रभावलाई दृष्टिगत गरी हामीले रेडियो र अनलाइन प्रारम्भ गरेका हौं । सदा झैं पाठक, शुभचिन्तक र विज्ञापनदाताको साथ पाउने आशा एवं विश्वास गर्दै अन्त्यमा पुन: एकपटक हाम्रा पाठक, शुभचिन्तक, विज्ञापनदाता र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई नव वर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना !