डा. ध्रुवचन्द्र गौतम
‘देशान्तर साप्ताहिक’का समस्त पाठकलाई नयाँ वर्षको हार्दिक शुभकामना ! देशान्तरलाई पनि शुभकामना † यो अखबार एउटा लामो समय–खण्ड पार गरेर यहाँसम्म आइपुगेको छ । मेरो त यो अखबार अब एउटा बानीमा परिणत भएको छ । यो यस्तो आत्मीय बानी भएको छ, जुन कहिल्यै ‘नछुट्ने गरी’ बानीमा सामेल भएको छ । कैयौं वर्ष भइसक्यो यसमा लेखिरहेको । यसमा धारावाहिक रूपमा मेरा केही किताबै पनि छापिएका छन् । पहिले देशान्तरमा छापियो अनि किताब बन्यो । सबभन्दा पछिल्लो पुस्तक हो, ‘अमेरिकामा इन्द्रेणी’ नियात्रा । भविष्यमा आफ्नो स्तम्भमा केही परिवर्तनका साथ अझै रोचक लेख्ने चाहना राखेको छु, प्रयत्न अवश्य गर्छु ।
!!!
२०७३ को अन्तिम दिन, ‘न्यु इयर इभ’, नव वर्षको पूर्वसन्ध्याका नाउले प्रचलित छ । यस दिन, पहिले भएको भए कुरा अर्कै हुन्थ्यो । साँझ कुनै न कुनै ‘महफिल’ जरुर सजिन्थ्यो । साथीभाइ हुन्थे, बाटुलो बसाइ हुन्थ्यो र पेगको अनुपात मिलाइन्थ्यो । साथीभाइ त छन् केही, ती सब वृद्ध भएका छन् । र सबैलाई ‘कलेजो बचाउने’ फिक्रीले समाएको छ । नगेन्द्रराज शर्माले त एउटा कविता नै लेखेका छन् । प्यारोडीजस्तो छ, भूपि शेरचनको र कृष्णभूषण बलको एकौटा कविताको । विगत वर्षको अन्त्यतिर लेखिएको । त्यसपछि, कसैले कविता–पाठ गरेको मैले नसुनेकोले त्यो वर्ष भनेर सम्झेको हुँ ।
आज नयाँ वर्ष हो । हिजोको दिन मैले रविन कोइरालाका साथ बिताएँ । प्रख्यात चित्रकार उत्तम नेपालीलाई भेट्न गयौं । उत्तम नेपाली अमेरिकाबाट आएको धेरै समय भइसकेको छ । मेरो हिजोको भेट दोस्रो हो । हामीहरू फेरि जानुपर्छ, भाउजू (श्रीमती उत्तम नेपाली)ले बताउनुभयो, उत्तम दाइ जान मानिरहनु भएको छैन । अब त उहाँ आफ्नो स्टुडियोमा पेन्टिङ पनि गर्न थालिसक्नु भएको छ । आफ्ना केही नवीन पेन्टिङ देखाउनु पनि भयो, व्याख्या पनि गर्नुभयो । मभन्दा रविन कोइरालाले पक्कै बुझ्नुभयो । उहाँ पेन्टिङका ज्ञातामात्र होइन, विद्वानै हो । एक ठूला पेन्टर । त्यही नाताले उहाँ एकेडेमीसियन पनि भइसक्नु भएको छ । मेरा निकटका मित्र हुनुहुन्छ । उहाँकै साथ उत्तम नेपालीकहाँ गएर उत्तम दाइलाई दुई बधाई दिएँ । एउटा जन्मदिनको । उहाँको जन्मदिन वैशाख २ गते रहेछ । रविन कोइराला उत्तम नेपालीलाई असाध्य मान्नुहुन्छ । आफ्नो गुरु मान्नुहुन्छ । अर्को बधाई उहाँलाई दियौं, यस वर्षको ‘श्री लूनकरणदास गंगादेवी साहित्यकला मन्दिर’को सम्मान पाएकोमा । निकैबेर बसियो त्यहाँ । बीचमा द्वारिका श्रेष्ठको फोन आयो । मैले सबैभन्दा बढी नव वर्षको शुभकामना द्वारिका श्रेष्ठलाई दिएको छु ।केही दिनदेखि फोन गरेपिच्छे शुभकामना दिन्थें । हिजो त झन्् कुरै भएन, ‘न्यु इयर इभ’ ।
उत्तम दाइकहाँबाट निस्केर हामी गयौं ‘चाइना भेली’मा । एक प्लेट मम र रविनले दिएको एक बिडा पानले हामीले त्यसलाई समारोहात्मक बनायौं । मेरा लागि अर्को एउटा सौगात पनि थियो रविनले दिएको, केही फिल्मका चक्काहरू । रविन कोइराला र मेरा पनि केही रुचि मिल्छन् । त्यसमा फिल्म पनि पर्छ । अहिलेसम्म उहाँसँग जति भेट भएको छ, प्रत्येक पटक केही फिल्म अवश्य दिन्छन् । मेरो पुरानो फिल्ममा रुचि छ, उहाँले मलाई कैयौं पुराना फिल्म दिनुभएको छ । नयाँ फिल्ममा ‘दंगल’ म हेर्न चाहन्थेंँ । हिजोको गिफ्टमा ‘दंगल’ पनि थियो । ‘चाइना भेली’का अनिल राईले हिँड्ने बेलामा सधैं झैं, ‘पुर्याइदिउँ सर ?’ भनेर सोधे । मैले भनेँ, आज उहाँसँग जान्छु । उनलाई ‘ह्याप्पी न्यु इयर’ भनेँ र हामी फक्र्यांै । त्यसबखत बेलुकी त भइसकेको थियो तर उज्यालै थियो । मैले भनेँ, न्यु इयर्स इभिनिङ मनाएको होइन, इभिनिङ बनाएको भने हो । त यही थियो, यसपालिको ‘न्यु इयर इभ’ मेरो ।
!!!
धेरै वर्ष भयो, हामी नयाँ वर्ष दुई पल्ट मनाउँछौं । एउटा यही वैशाख, अर्को जनवरी । अब मेरो मनाई त यसपालि यस्तै भयो, पहिले मनाउने गरेको सम्झ्यो बस्यो । एकाध फोन, एकाध मेसेज आउँछ, त्यसैलाई सुम्सुम्यायो, बस्यो । जस्तो श्याम प्रधानको म्यासेज शुभकामनाको । हाम्रो एउटा भिनाजुको अर्घाखाँचीबाट आएको फोनकल, शुभकामनाको । भन्नुभयो, बाबु म असी वर्ष भएँ, सम्झेर गरेँ । मैले धन्यवाद दिएँ उहाँलाई । उहाँले असी वर्ष भएँ भन्नुभयो । मैले सोधेँ, म नै कुन पो तन्नेरी छु र † पहिलो पटक सम्झेँ, नयाँ वर्षले पुरानो मान्छे बनाउँदै पनि गर्छ हामीलाई । तर यस्तो धेरै छ । सम्झिन उचित लागेन ।
प्रतिक्रिया