देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश नम्बर २ का पार्टी नेताहरुसंग छलफल गर्दै कांग्रेस शीर्ष नेता

देशान्तर

काठमाडौं । संविधान संशोधनसम्बन्धी नयाँ प्रस्ताव दर्ता भएपछि संसद्को सबैभन्दा ठूलो पार्टी कांग्रेसले आफ्नै पार्टीका २ नम्बर प्रदेशका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिसँग छलफल गर्ने भएको छ ।

कांग्रेसले २ नम्बर प्रदेशका पार्टी नेताहरूसँग शनिबार छलफल गर्न लागेको हो । कांग्रेस नेता रामचन्द्र पौडेलले ३१ वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने वातावरणलाई थप मझबुत बनाउन आन्तरिक छलफल डाकेको जानकारी दिए । साथै, प्रदेश नम्बर २ मा चुनावी वातावरण बनाउने विषयमा पनि कांग्रेस छलफल केन्द्रित हुने भएको छ ।

‘पहिलेको संविधान संशोधनसम्बन्धी विधेयक फिर्ता लिएर नयाँ प्रस्ताव दर्ता भएपछि हाम्रै साथीहरूसँग छलफल गर्न लागेका हौँ,’ पौडेलले भने, ‘प्रदेश २ का हाम्रा केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापतिहरूले नयाँ प्रस्तावलाई कसरी लिएका छन्, उनीहरूका कुरा के छन्, कसरी जाने भन्नेमा छलफल गर्न लागेका हौँ ।’

संविधान संशोधनको नयाँ प्रस्तावमा मधेसकेन्द्रित दलहरूले अझै असन्तुष्टि जनाइरहेका वेला कांग्रेसले आफ्नै पार्टीका नेतासँगको छलफलमा निर्वाचनको वातावरण बनाउने आधारबारे सुझाब लिन लागेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।