देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेयर पदमा लड्न प्राध्यापक पदबाट राजीनामा

देशान्तर

चितवन,। स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा दिखिएको छ ।

विद्यार्थी कालदेखि नै नेपाली काँग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आउनुभएका घिमिरेले यसै महिनादेखि लागू हुने गरी विश्वविद्यालयको प्राध्यापकको जागिरबाट राजीनामा दिएको हो ।

अझै ११ वर्ष सेवा अवधि बाँकी रहँदा सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रारसमेत रहनुभएका घिमिरे काँग्रेसका अन्य आकांक्षीको लाममा जागिर छोडेर उत्रिएको हो । त्रिचन्द्र कलेज काठमाडौँबाट आइएसीएजी, कृषि क्याम्पस रामपुरबाट बिएस्सी एजी र जापानको ओकायामा विश्व विद्यालयबाट एमएस्सी एजी एवम् सोही विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका घिमिरेले विसं २०४७ सालदेखि कृषि क्याम्पस रामपुरमा पढाउँदै आएकोे थियो । उहाँले अणुवंशिक विषयमा विद्यावारिधि गरेसकेको छ ।

विद्यालयदेखि नै राजनीतिमा सक्रिय घिमिरे त्रिचन्द्र क्याम्पसको नेविसङ्घ एकाइका अध्यक्ष, कृषि क्याम्पस रामपुरमा नेविसङ्घका तर्फबाट दुई पटकसम्म स्ववियु सभापतिको उम्मेदवार भई पराजित भएकोे थियो ।

नेविसङ्घ चितवनका सभापति, नेका महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसम्पादन समिति सदस्य, नेपाल प्राध्यापक सङ्घको केन्द्रीय सदस्यलगायतका पदमा रहेर काम गरिसकेका घिमिरेले पटकपटक गरी झन्डै एक वर्ष जेल जीवन विताईसकेको छ ।

घिमिरेका अनुसार पञ्चायतकालीन समयमा माडी, जगतपुरलगायतका क्षेत्रमा सङ्गठन विस्तारका क्रममा नेपाली सेनाले सार्वजनिक रुपमा बाँधेर यातना दिई बन्दीगृहमा राखेको थियो । हाल ग्रेडसहित मासिक रु ६० हजार तलब खाँदै आउनुभएका घिमिरेले महानगरपालिकालाई दूरदर्शी ढङ्गले सञ्चालन गर्नसक्ने आफू उपयुक्त उम्मेदवार भएकाले पार्टीले टिकट दिने विश्वासका साथ जागिरबाट राजीनामा दिएर महानगर क्षेत्रमा घरदैलो अभियानमा लागेको बताए ।

महानगरका लागि नेकाबाट ३४ जनाले आकांक्षा देखाएका छन् । नेका भरतपुर महानगरले इच्छुक दावेदारलाई निवेदन दिन आह्वान गरेपछि ३४ जना पुरुषले मेयर र एक पुरुष र १४ महिला गरी १५ जनाले उपमेयरका लागि निवेदन दिएका हुन् ।