देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिलेर बसेको समाज बिथोल्न दुई शक्ती लागे : कांग्रेस सभापति देउवा

देशान्तर

तुलसीपुर । स्थानिय चुनावलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले केहि गलत तत्वहरु नेपाली नेपाली बीचमो सदभाव बिथोल्न लागेको भन्दै यसले मुलुकलाई अधोगति तर्फ लैजाने बताएका छन् । सोमबार दाङको तुलसीपुरमा चुनावी जागरण सभालाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले नेपालमा मिलेर बसेका दाजुभाइलाई लडाएर फाइदा लिन दुईवटा तत्व सक्रिय भएर लागिरहेको जिकिर गरे ।

उनले भने, ‘यसले देशलाई दुर्भाग्यतिर लैजान्छ, एमाले मधेसीको विरोध गरेर मधेसी दाजुभाइको मनोबल गिराउने र मधेसी मोर्चाले पहाडीको विरोध गरेर पहाडी दाजुभाइको मनोबल गिराउने काममा सक्रिय भएको छ ।’ सभापति देउवाले बीपीको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै भने आजको दिनमा पनि राष्ट्रिय मेलमिलाप आवश्यक रहेको औँल्याएका छन् ।

उनले देशका दाजुभाइबीच द्वन्द्व गराएर राष्ट्रवाद बलियो हुन नसक्ने बताए । ‘यसबाट बँच्न नेपाली कांग्रेस लागिरहेको छ । देशमा बस्ने हरेक नेपालीका अधिकारहरु स्थापित गर्नका लागि दलित महिला र जनजाती आयोग गठन गरेका छौँ । जसले उनीहरुको भाषा संस्कृति तथा मुल्यमान्यतालाई संरक्षण र उत्थानका सहयोग गर्दछ ।’ देउवाले भने ।  उनले कांग्रेसले हार्दा देशले नै हार्ने भएकाले देश बचाउनका लागि कांग्रसलाई नै मतदान गर्न आग्रहसमेत गरे ।

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको जीवनस्तर माथि उठाउने र राष्ट्रलाई समृद्धितिर लैजाने पार्टी नेपाली कांग्रेस भएको जिकिर गरे । उनले अन्य पार्टीले मानिसको टाउको काटेर आन्दोलनको सुरुवात गरेको तर नेपाली कांग्रेसले हलो जोत्ने आन्दोलन गरेको स्मरण गरे ।  उनले भने, ‘नेपाली कांग्रेस मजदुर र श्रमिकहरुको पार्टी हो । यसले विराटनगरको जुटमिलमा मजदुरको भलाईका लागि गरेको संघर्ष र बलीदानीको इतिहास नबिर्सिनुस् ।’ उनले भने, ‘नेपाली कांग्रेसले सिर्जनात्मक काम गरेर आन्दोलन गरेको पार्टी हो । जसले सद्भावको विउ रोपेर मित्रताको सन्देश फैलाउन चाहन्छ । आपसमा विभेद सिर्जना गरेर राष्ट्रको हित हुन सक्दैन ।’

उनले प्रतिपक्षलाई लक्षित गर्दै करिब एक दशकभन्दा लामो संघर्षको इतिहासलाई लत्याएर मधेसीमोर्चाले के गर्न खोजेको र देशमा विखण्डन ल्याएर एमालेले कुन राष्ट्रवादलाई प्रमाणीत गर्न खोजेको हो ? भन्ने प्रश्न गरे । गाउँ गाउँमा सिंहदरबारका अधिकार पुर्याउने समयमा कसैले भाँड्न खोजेमा उ आफैँ पतन भएर जाने चेतावनी समेत दिए । उनले चुनावका उम्मेदवार बन्न तिनवटा आधारहरु हुनुपर्ने सुझाव दिएका छन् । उनले भने, ‘पहिलो कुरा उम्मेदवारले समाजमा गरेको योगदान, उसको लोकप्रियता र नगर तथा गाउँमा आएको जीम्मेवारी वहन गर्न सक्ने नेतृत्व हुनुपर्दछ । पार्टीलाई जीताउन सकिएन भने लोकतन्त्र अन्धकारतर्फ धकेलिन सक्छ ।’त्यसकारण जनतालाई हल्ला गर्ने पार्टीको पछाडि नजान आग्रह गरे ।

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले कांग्रेसबाट बागी उम्मेदवार उठ्नेको साधारण सदस्यतासमेत खोरेज गरिने बताए । उनले भने, ‘बागी उम्मेदवार आफू जित्नका लागि भन्दा पनि नेपाली कांग्रेसलाई हराउनका लागि बन्ने उम्मेदवार भएकोले त्यस्तो व्यक्ति नेपाली कांग्रेसलाई हित हुने काम गर्न सक्दैन ।’ उनले निर्वाचनका समयमा धोका दिएर बागी उम्मेदवार बन्ने र अन्यत्र मतदान गर्ने व्यक्ति कांग्रेस हुन नसक्ने स्पष्ट पारेका हुन् ।