देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बौद्धनाथ चैत्यमा भक्तजनको भीड

देशान्तर

काठमाडौं। तामाङ समुदायको महत्वपूर्ण पर्व ‘तेमाल जात्रा’ मा मेला भर्न बौद्धमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल चतुदर्शीका दिन मनाइने सो जात्रामा सो समुदायले वर्ष दिनभित्र दिवङ्गत भएका मानिसको स्मरणमा बौद्धको चैत्य परिक्रमा गरी बत्ती बाल्नेको घुइँचो लागेको छ ।

मङ्गलबार रातिसम्म चल्ने सो जात्रामा मेला भर्नका लागि काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट भक्तजनको सहभागिता छ । समितिले यसवर्ष एक लाख भन्दा बढीले सो मेला भर्ने जनाएको छ ।

सो जात्रा कहिलेदेखि सुरु भएको भनेर यकिनका साथ भन्न नसकिए पनि काभ्रेस्थित तिमालका अन्तिम राजा रिञ्जेन दोर्जे वलले आफ्ना जनतालाई दिवङ्गत आत्मको शान्तिका लागि बौद्धमा गएर बत्ती बाल्नका लागि व्यवस्था मिलाएर राजकीय मान्यता दिएको जनविश्वास रहेको बौद्ध विद्वान टाँसी छिरिङ नाम्गेलले जानकारी दिए ।

स्वयम्भू पुराणका अनुसार विपस्सी बुद्धले काठमाडौँ उपत्यकामा आएर आजकै दिन कमलको फूल रोपेको प्रसङ्ग छ । बौद्धनाथ क्षेत्र विकास समितिले मेलालाई व्यवस्थित बनाउन सो समितिका अध्यक्ष सम्पूर्णकुमार लामाको संयोजकत्वमा तेमाल जात्रा व्यवस्थापन समिति समेत गठन गरेको छ ।

मेलामा सहभागी भक्तजनको व्यवस्थापनका लागि सुरक्षाकर्मी सहितको सहयोगमा कर्मचारीलाई सामाजिक सहयोग तथा स्थानीय सङ्घ संस्थाको सहभागितामा स्वयम्सेवक परिचालन गरेको छ । समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले सो जात्राका लागि करिब रु दश लाख खर्च विनियोजन गरेको जानकारी दिँदै लाइनलाई व्यवस्थित तरिकाले सार्ने र चाँडो दर्शनको व्यवस्था मिलाइएको बताए ।

उक्त स्थानमा विभिन्न सङ्घसंस्थाको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ भने केही संस्थाले पिउने पानी तथा विभिन्न खानेकुरा समेत वितरण गरेका छन् । केही भक्तजनले त्यहाँको दर्शन गरिसकेपछि राति बालाजुस्थित बाइसधारामा स्नान गरी स्वयम्भूनाथ चैत्यको समेत पूजा गर्ने गर्दछन् ।