देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुस्लिम शिक्षामा अनुदान बढाउन माग

देशान्तर

इटहरी। ‘मद्रशा इस्लाहुल मुस्लिमिन’ पकलीको आयोजनामा इटहरीको पकलमीमा आयोजना भएको दुई दिने मुस्लिम शैक्षिक सम्मेलन शनिवार सम्पन्न भएको छ । राज्यले खर्बौँ रुपियाँ शिक्षा क्षेत्रमा लगानी गर्दै आएको भए पनि मुस्लिम समुदायका बालबालिकाको शैक्षिकस्तरमाथि उकास्ने विषयमा भने ज्यादै कम ध्यान दिएकोमा सम्मेलनमा असन्तुष्टि व्यक्त गरिएको छ ।

सुनसरी जिल्लामामात्र झन्डै तीन लाख मुस्लिम समुदायको बसोवास रहेको र मुस्लिम बालबालिकाको अध्ययनका लागि यस जिल्लामा ८३ वटा मदरसाले शैक्षिक सेवा प्रदान गर्दैआएको छ । तर दुई अर्ब भन्दा बढी शिक्षा क्षेत्रमा लगानी भए पनि राज्य पक्षबाट यस जिल्लाको मुस्लिम समुदायको शैक्षिक क्षेत्रमा भने ज्यादै कम सहयोग प्राप्त हुने गरेकोमा मुस्लिम नेताहरुले गुनासो गरेका छन् ।

सरकारको शिक्षा मन्त्रालयमार्फत यस जिल्लाको मदरसाका लागि न्यूनतमप्रति मदरसा ५० हजारदेखि डेढ लाख रुपियाँसम्म सहयोग उपलब्ध हुँदै आएको र त्यो ज्यादै न्यून सहयोग भएको पनि मुस्लिम शिक्षकहरुको भनाइ छ ।

एक,एक मदरसा रहेको सुनसरी जिल्लाको जल्पापुर, रामनगर भुटाहा, भोक्राहा र सोनापुर जस्ता स्थानमा ठूला मदरसाहरुले मुस्लिम समुदायका बालबालिकाको शैक्षिक अवस्था उकास्न भरमग्दुर प्रयास गर्दै आएकोमा सरकारीस्तरबाट भने अपेक्षाकृत सहयोग प्राप्त नहुने गरेकाले न्यूनतम सहयोगलाई अधिकतम उपयोग गर्नु मुस्लिम समुदायको बाध्यता रहँदै आएको शैक्षिक सम्मेलनका वक्ताको भनाइ छ ।

इब्राहिम हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा सांसद जाकिर हुसैन, मुस्लिम धर्मगुरु मौलाना गुलाम रसुल फलाही, नजुमल हसन फलाही, अब्दूल्लाह मक्ली र हैदर मदनीलगायतले मुस्लिम समुदायका बालबालिकाले शैक्षिक क्षेत्रमा राज्यले उपलब्ध गराउने सेवा सुविधा चित्त बुझ्दो बन्नसक्ने कुनै सम्भावना नरहेको गुनासो गरे ।