हेटौँडा । ऐतिहासिक तथा पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएपछि रु ४० करोडको लागतमा पुनःनिर्माण गर्ने गुरुयोजना तयार गरिएको छ । नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । विसं १२५८ मा सेनवंशी राजाको शासनकालमा निर्माण गरिएको मकवानपुरगढीमा तामाङ र मगरको संस्कृति झल्कने सङ्ग्रहालयसमेत राखिने भएको छ । बहुवर्षीय योजना सञ्चालन गरी विकास गर्न लागिएको मकवानपुरगढी हेटौँडाको मुख्यचोकबाट १७ किलोमिटर पूर्वमा रहेको छ ।
तत्कालिन राजा महेन्द्रले आफैँले जिप हाँकेर २०१६ सालमा उद्घाटन गरेको कान्तिराजपथसँग जोडिएको मकवानपुरगढीमा रहेका दरबार तथा अन्य संरचना जीर्ण भएका छन् । मकवानपुरगढी पर्यटन विकास समन्वय समितिका सचिव केदारप्रसाद न्यौपानेका अनुसार मकवानपुरगढीको नक्सा तयार पारेर पुरातत्व विभागलाई बुझाइसकेको बताए । पुरानो संरचनामा परिवर्तन नआउने गरी दुईवटा दरबार, किल्ला, सङ्ग्रहालय, मन्दिर, होटेल, भ्युटावर, वनभोज स्थल, बगैँचा, मुलढोका निर्माण गरिने छ । गुरुयोजनामा रु १२ करोड ९४ लाखमा किल्ला, रु आठ करोड १० लाखमा दरबार, रु ४५ लाखमा सङ्ग्रहालय, रु ८० लाखमा बगैँचा निर्माण गर्न प्रस्ताव गरिएको छ ।
त्यस्तै रु ८१ लाखमा छवटा वनजोज स्थल, रु एक करोडमा खानेपानी व्यवस्थापन गर्ने र एक करोड ६८ लाखमा वंशीगोपाल, सिद्धेश्वर महादेव र गणेशको मन्दिर निर्माण गरिने भएको छ । गढी दरबारको मूलढोका निर्माणमा रु २८ लाख खर्च गर्ने गुरुयोजना तयार गरिएको छ । समितिले तीन वर्षअघि छलफल अघि बढाएर गुरुयोजना तयार गरेको हो । मकवानपुरमा तामाङ बाहुल्यता रहेकाले तामाङ जातिको ऐतिहासिक संस्कृति झल्कने सामग्री सङ्ग्रहालयमा राखिने प्रस्ताव गरिएको छ । गढी सङ्ग्रहालयमा देशभरका गढीको इतिहास, फोटो र पुरातात्विक वस्तु राखिने गुरुयोजनामा उल्लेख छ ।
गढी दरबार, किल्ला र मूलढोका निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना नमेटिने किसिमले निर्माण गरिने छ । समुद्री सतहबाट एक हजार १९ मिटर उचाइमा रहेको मकवानपुरगढीमा रहेको तोपलगायतका सामग्री द्वन्द्वकालमा हराएको थियो । गढीबाट दृश्यावलोकन गर्न भ्यूटावर निर्माण गरिने छ । मकवानपुर राज्यको विसं १६१० मा राजधानी मकवानपुरगढीमा स्थापना गरिएको थियो । सेन राजाको थलोको निशाना मेट्ने कार्य भने विसं १८१९ मा भएको थियो । गढी दरबारमा रहेको शिलालेखमा मकवानपुर राज्यको बारेमा सबै कुरा समेटिएको छ । मकवानपुर राज्यको पहिलो राजा लुहाङ सेन थिए ।
राघवनरेन्द्र सेन, हरिहरइन्द्र सेन, शुभ सेन, माणिक सेन हुँदै हेमकर्ण सेनको पालामा आएर गोरखाका राजा पृथ्वीनारायण शाहसँग सम्बन्ध गाँसिएको इतिहासमा उल्लेख छ । हेमकर्ण सेनले आफ्नो छोरी गोर्खाका राजा पृथ्वीनारायण शाहसँग विवाह गराइदिएका थिए । मकवानपुरे सेन वंशका अन्तिम राजा दिग्वन्धन सेन थिए ।
लडाइँमा केहरसिंह बस्नेत र वंशराज पाण्डेको नेतृत्वमा युद्ध हुँदा विसं १८१९ भदौ ९ गते शनिबार गोर्खाली फौजका एकसय जना र चार सय मकवानपुरे सिपाहीले वीरगति प्राप्त गरेको यहाँ रहेको शिलालेखमा उल्लेख छ । पराजित भएर मकवानपुरे राजा दिग्वन्धन सेन, उनका परिवार र उनका मन्त्री कनकसिंह बानियासमेत भाग्ने क्रममा हेटौँडाबाट ठोरी पुगेका थिए । मकवानपुरगढी किल्लाकै कारण १२औँ शताब्दीमा सो ठाउँको नाम मकवानपुर रहन गएको किंवदन्ती पाइन्छ ।
प्रतिक्रिया