देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले पार्टी भन्दा पनि अडान र दृष्टीकोण नभएको जत्था हुन थाल्यो : वरिष्ठ नेता पौडेल

देशान्तर

विराटनगर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभएमा संघीयता धरापमा पर्ने बताएका छन् । उनले स्थानिय तहको निर्वाचन भएन भने त्यसको पहिलो शिकार संघीयता हुने बताए । नेपाली काङ्ग्रेसको विराटनगर उपमहानगर समितिद्धारा आयोजित नगर सम्मेलनमा नेता पौडेलले संविधान संशोधन नभए निर्वाचन हुन नदिने अडान लिँदै आएका मधेसी मोर्चाका नेतालाई इङ्गित गर्दै उनले भने, ‘सङ्घीयताका पक्षमा उग्र उग्र कुरा गर्ने महन्थ ठाकुर र उपेन्द्र यादवले बुझ्नुपर्छ, यो निर्वाचन भएन भने संविधान कार्यान्वयन हुन सक्तैन । यसपछि सङ्घीयता र समावेशिता खतरामा पर्छन् ।’

भर्खरै आफूले मधेस क्षेत्रको प्रशस्त भ्रमण गरेको जानकारी दिँदै पौडेलले मधेसी नेतालेझैँ तराई–मधेसका जनताले अतिवादी र अतिरञ्जित कुरा नगरेको चर्चा गरे ।  ‘नेताले जे भने पनि मधेसका जनता निर्वाचन चाहन्छन्’, पौडेलको भनाइ थियो, ‘निर्वाचनसँगसँगै उनीहरू प्रशासन, राजनीति, स्थानीय तह र सत्तामा आफ्नो समावेशिता र पहुँच चाहन्छन् । उनीहरू नागरकिता प्राप्तिमा सहजता र विकास चाहन्छन् । यो संविधानले यी सबै कुराको प्रत्याभूति गरेको छ। त्यसैले मेधसका नेताले आफ्नो दृष्टिकोण बदल्नु पर्छ ।’

नेताको भन्दा तराई मधेसका जनताको दृष्टिकोण फरक रहेको उल्लेख गर्दै उनले चुनावका माध्यमबाट संविधान कार्यान्वयन गरिएन भने गणतन्त्र र धर्म निरपेक्षतामा समेत खतरा आउने धारणा प्रकट गरे । राष्ट्रियताका सन्दर्भमा एमाले र मधेसी मोर्चा दुबै उग्रवादी धारमा रहेको उनको टिप्पणी थियो । ‘दुनियाँमा वामपन्थीहरूले समस्यामात्र जन्माएका छन्, समाधान दिएका छैनन्’, उनले भने, ‘त्यसैले विश्वभरि नै कम्युनिस्ट शासनको अन्त भयो । नेपालका वामपन्थी पनि समस्या मात्र जन्माउँछन् ।’ पौडेलले बिपी कोइरालालाई जिन्दगीभरि अराष्ट्रिय भन्ने एमालेका नेता अहिले बिपीलाई नै सबैभन्दा ठूलो राष्ट्रवादी देखिरहेका छन् भन्ने चर्चा गर्दै एमालेलाई अडान र दृष्टिकोण नभएको जत्था भन्दै आलोचना गरे । ‘सरकार सिंहदरबारबाट घरदैलोमा आउँदैछ’, उनको प्रश्न थियोे, ‘सङ्घीयताको उग्र वकालत गर्नेले यो बुझ्नुपर्छ, घरदैलोमा आएको सरकारलाई स्वागत गर्ने कि सिंहदरबारमै फर्काउने ?

पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले २ नम्बर प्रदेशबाहेक अरू ६ वटा प्रदेशमा निर्वाचन भयो भने मुलुक जातीय द्वन्द्व र विखण्डनतर्फ जान्छ भन्ने दाबी गरे । एउटा सानो गल्तीले ठूलो खतरा निम्तन सक्ने चेतावनी दिँदै डा। कोइरालाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्वाचन नगरे मुलुकले ठूलो पछुताउ ब्यहोर्नु पर्ने विचार व्यक्त गरे।