देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समितिमा टिकट वितरणको प्रक्रियामा छलफल

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसको दोश्रो दिनको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई टिकट वितरण कुन प्रक्रियाबाट दिनेसम्बन्धी विषयमा छलफल भइरहेको छ । बैठकमा सोमवार केन्द्रीय सदस्यहरुले वडादेखि महानगरपालिकासम्मका उम्मेदवारलाई कुन प्रक्रियाबाट टिकट दिँदा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा आफ्ना धारणा राखेको बताइएको छ ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा उम्मेदवारलाई केन्द्रबाट तथा वडा र गाउँपालिकामा भने जिल्लामा संयन्त्र बनाएर टिकट दिनुपर्ने धारणा राखेको केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिए । आइतबारबाट सुरु केन्द्रीय समिति बैठकमा स्थानीय तहअनुसारको पार्टीको साङ्गठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल जारी छ ।

यसअघि बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । त्यस्तै केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिसमेत गठन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठित समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित पार्टीको वरिष्ठताका आधारमा थप २५ केन्द्रीय सदस्य गरी जम्मा २९ सदस्यीय समिति गठन गरेको थियो ।

सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा प्रस्तुत प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा आज केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, दीपक गिरी, बालकृष्ण खाँण, आनन्दराज ढुङ्गाना, मोहन बस्नेत, सुरेन्द्रराज पाण्डेलगायतले आफ्ना धारणा राखेका छन् ।