देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा सरकारले आर्थिक सहयोग गर्ने

देशान्तर

काठमाडौ । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाई  समेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजर सहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा रु पचास हजार सम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा पाँच रोगका लागि मात्रै यस्तो सुविधा तय गरिए पनि पछि यसलाई विस्तार गर्दै जाने तयारी गरेको बताए ।

क्यान्सर, मृगौला, मुटुलगायतका रोग लाग्दा राज्यले दिने भनि यसअघि नै घोषणा गरेका सुविधा लिएकाहरुले समेत छुट्टै यो रकम सहयोग स्वरुप पाउनेछन् । बोर्डबाट सुविधा लिएकै कारणले त्यस्ता बिरामीले राज्यबाट पाउने अन्य सुविधाबाट वञ्चित हुनुपर्ने छैन ।कामदार आफैले पालनपोषण गर्नुपर्ने पतिपत्नी, छोराछोरी, आमाबुबा र महिला कामदारको हकमा निजको सासू, ससुराले समेत यस्तो सुविधा पाउनेछन् ।

बोर्डले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावलीको नियम २६ को उपनियम (१) को खण्ड ख अनुसार स्वास्थ्य उपचारमा सहयोग गर्न र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्य सञ्चालन निर्देशका, २०६८ को प्रकरण ९ को ३ को व्यवस्थाको कार्यान्वयनका लागि बोर्डले कामदारका परिवारको स्वास्थ्य उपचार सम्बन्धी मापदण्ड, २०७३ पारित गरेको छ ।

वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाई यस्ता रोग लागेमा बोर्डले सो रकम उपलब्ध गराउने मापदण्डमा उल्लेख छ ।

यसअघि पनि रु २५ हजारसम्म परिवारका सदस्यलाई उपचार खर्च उपलब्ध गराउने व्यवस्था रहेपनि त्यसको कार्यान्वयन हुनसकेको थिएन । बोर्डका कार्यकारी निर्देशक काफ्लेले यस पटक यो मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाए ।

कामदारलाई राज्य तर्फ बाट प्रदान गर्ने सेवा, सुविधामा बढोत्तरी गर्दै लैजाने नीति बमोजिम यो सुविधा प्रदान गर्न लागेको उनले बताए। रोगको अवस्थाका आधारमा सामान्य, मध्यम र गम्भीर गरी तीन तहमा विभाजन गरिएको छ ।

शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा रु १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा रु ३० हजार र शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा रु ५० हजार उपलब्ध गराइने मापदण्डमा उल्लेख छ । यस मापदण्ड बमोजिम उपचार खर्च पाउन बोर्डको सचिवालयमा सम्बन्धी व्यक्तिले निवेदन दर्ता गराउनुपर्नेछ ।

निवेदन दिँदा कामदारको श्रम स्वीकृतिको निस्साको प्रतिलिपि, कामदारको राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कामदार र बिरामी बीचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग स्पष्ट रुपमा खुल्नेगरी सरकारी अस्पताल वा मान्यता प्राप्त चिकित्सकको ‘प्रेस्किप्सन’ वा सिफारिसपत्र पेस गर्नुपर्नेछ । कामदारको करार अवधि सकिएको अवस्थामा भने निजको परिवारले उपचार खर्च पाउनेछैन ।