अहिलेको राष्ट्रिय आवश्यकता के हो भने हामी सबै मिलेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दायित्व हाम्रो हो । यसलाई संस्थागत गर्नका लागि तीनै तहको निर्वाचन आवश्यक छ । यो संरचनाको स्थापना आवश्यक छ । राजनीतिक समस्यालाई जीवित राख्यौं भने मुलुकको आन्तरिक राष्ट्रियता कमजोर हुन्छ । त्यही कारणले हामीले अब राजनीतिक समस्या, राजनीतिक मुद्दाको अन्त्य गर्न जरुरी छ । त्यही कारणले यतिबेला हामी सबै राजनीतिक दलहरू एकै ठाउँमा हुनुपर्छ ।
मिति घोषणा भइसक्दा पनि चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका अझै पनि जनमानसमा रहेको पाइन्छ, किन ?
हो अझै आशंका कायमै छ । यस्तो आशंका हुनुका केही कारण र पृष्ठभूमि पनि छन् । ठूलो संर्घष र बलिदानपछि खतरामा परेको लोकतन्त्र संविधानमार्फत स्थापित भएको छ । नेपाली कांग्रेसको प्रयासमा यो भएको हो । आदरणीय नेता गिरिजाप्रसाद कोइरालाको प्रयासमा हत्या, हिंसामा लागेका माओवादी शान्तिपूर्ण राजनीतिमा आए र खतरामा परेको लोकतन्त्र पुन:स्थापित भयो । लोकतन्त्र समाप्त भएर बन्दुकका बीचको फन्दामा रहेको मुलुकलाई गिरिजाप्रसाद कोइरालाले निकाल्नुभयो । त्यसैगरी नेपाली कांग्रेसले २००७ सालमा संविधानसभामार्फत संविधान बनाउने भनेर जनतासँग गरेको वाचा पनि कांग्रेसले आफ्नै नेतृत्वमा पूरा गरेको छ । यो काम तत्कालीन पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा सफल भएको हो । अब कार्यान्वयनको जिम्मा हाम्रो काँधमा आएको छ । संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य छ । निर्वाचनको मिति हामीले निर्धारण गरिसकेका छौ । तर जसरी सहमति, सहकार्य र एकताका साथ संविधान जारी गर्ने बेला जस्तो सबै राजनीतिक दलहरूका बीचमा एकताको वातावरण बनिरहेको अवस्था छैन । यो संविधान कार्यान्वयन गरेर अब मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा लैजानुपर्छ भन्नेमा दलहरू कम्तीमा पनि एकै ठाउँमा आउन जरुरी छ । यसको अभाव देखिएको छ । तर मैले के पनि महसुस गरेको छु भने आफ्ना केही आग्रहहरूलाई पूरा गर्नुपर्छ भन्ने भए पनि चुनाव गराउनुपर्छ भन्नेमा सबै दलहरू एकमत छन् । चुनाव नहुँदा कुनै पार्टीको पनि भविष्य छैन भन्ने सबै पार्टीहरूले महसुस गरेका छन् । पछिल्लो अवस्थामा प्रधानमन्त्री चीन जानुभन्दा पहिला पार्टीहरूका बीचमा खासगरी सरकारमा रहेका दलहरू, मधेसी मोर्चा र मुख्य विपक्षी दलका बीचमा जसरी छलफल भयो, त्यसले एउटा वातावरण बनाएको छ । यो छलफलमा सबैको चुनावमा सुन्नै पर्ने केही विषयहरू सुनौं र केही मुद्दाहरू पछिलाई थाती राख्न सकिन्छ भन्ने न्यूनतम सहमति भएको छ । यो सहमतिका कारण पनि अब शंका निवारण हुँदै जान्छ भन्ने हो । सहमतिको वातावरण बन्दै जाँदा चुनावप्रति देखिएको शंका पनि निवारण हुँदै जान्छ । यो वातावरण बन्छ, बन्नुपर्छ र स्थानीय तहको निर्वाचन समयमा नै हुनुपर्छ ।
चुनावलाई लिएर आम जनतामा उत्साह छ । सरकार र निर्वाचन आयोग पनि निर्वाचनको तयारीमा जुटिरहेकै छ । तर पनि चुनाव हुँदैन कि भन्ने शंका निवारण हुन नसक्नुको कारण चाहिँ के हो जस्तो लाग्छ ?
यसको कारण खोजिनुपर्छ । यसको मुख्य कारण भनेको निर्वाचनको पक्षमा सबै राजनीतिक दलहरू एकैसाथ नहुनु हो । हामीले राष्ट्रिय राजनीति र राष्ट्रिय दायित्वलाई बुझ्न जरुरी छ । अहिलेको राष्ट्रिय आवश्यकता के हो भने हामी सबै मिलेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दायित्व हाम्रो हो । यसलाई संस्थागत गर्नका लागि तीनै तहको निर्वाचन आवश्यक छ । यो संरचनाको स्थापना आवश्यक छ । राजनीतिक समस्यालाई जीवित राख्यौं भने मुलुकको आन्तरिक राष्ट्रियता कमजोर हुन्छ । त्यही कारणले हामीले अब राजनीतिक समस्या, राजनीतिक मुद्दाको अन्त्य गर्न जरुरी छ । त्यही कारणले यतिबेला हामी सबै राजनीतिक दलहरू एकै ठाउँमा हुनुपर्छ । पार्टी विशेषका केही मुद्दा, माग भएमा त्यसलाई गम्भीरतापूर्वक सुन्नुपर्छ । हाम्रो पार्टीले नेपाली कांग्रेसले राष्ट्रिय जिम्मेवारीका साथ गम्भीरतापूर्वक यसलाई लिएको छ । अहिलेको समस्या भनेको संविधान जारी गर्ने बेलामा मधेसी मोर्चाले केही माग र मुद्दा उठाएको थियो । मधेसी मोर्चाले मात्र होइन त्यो बेलामा आदिवासी–जानजाति, महिला, दलित, मुस्लिम सबैले केही मुद्दा उठाएका थिए । सबै पार्टीमा रहेका यी समुदायले ती मुद्दा उठाएको थिए । उनीहरूले समानुपातिक समावेशितालाई सुनिश्चित गर्नुपर्छ भनेका थिए । अर्को, जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्छ पनि भनेका थिए । योसँगै भूगोल पनि उत्तिकै महत्वपूर्ण हो । भूगोल पनि खाली हुनु हुँदैन भनेर आवाज उठाएका थिए । भूगोल र जनसंख्याको प्रतिनिधित्व हुनुपर्छ, समानुपातिक समावेशिता आवश्यक छ भनेर हामीले स्वीकार गरेका हांै । केपी ओली नेतृत्वको सरकार भएको अवस्थामा यो विषय स्वीकार गरिएको हो । संविधान जारी गरौं अनि परिवर्तित संसद्ले यो विषयलाई सम्बोधन गरौं भनेर सबैले स्वीकार गरेको हो । तीभन्दा बाहेकका केही विषयहरू पनि उनीहरूले उठान गरिरहेका थिए । केही विषयमा पहिलो संशोधन हामीले गरेका छौं । अब संविधानको दोस्रो संशोधन हुने हो । केही विषय थाती राखेर संविधान जारी गरेका हौं । केपी ओलीजीले सहमति भइसकेका विषयमा पनि आनाकानी गरेका छन् । दुईवटा विषयमा संविधान संशोधन भइसकेको छ । बाँकी रहेका विषय भनेको भाषा, नागरिकता र जनसंख्याको आधारमा राष्ट्रियसभाको प्रतिनिधित्व र सीमांकनको विषयमा अझै असन्तुष्टि छ । अरू विषय पनि छन् । एमाले सरकारमा भएको अवस्थामा पनि यी विषयलाई उहाँहरूले स्वीकार गर्नुभएको हो । अहिलेका उपप्रधानमन्त्री त्यो बेलामा पनि उपप्रधानमन्त्री रहनुभएका कमल थापाको संयोजकत्वमा माथिका विषयलाई सम्बोधन गर्नका लागि ओली सरकारले वार्ता टोली बनाएको थियो । त्यो बेला वार्ताको नजिक पुगिएको थियो । तर परिणाम आउन सकेन । अहिले एमाले विपक्षमा पुग्यो । एमालेले सरकारमा भएको अवस्थामा जस्तै विपक्षमा हुँदा पनि राष्ट्रिय जिम्मेवारी बोध गर्दै यी विषय टुंगो लगाउने प्रयत्नमा लागेको भए यतिबेलासम्म टुंगो लागिसक्थ्यो । सरकारमा छँदाको दायित्वबोध एमालेले विपक्षमा रहँदा महसुस गरेन । यी विषय भनेका राष्ट्रिय दायित्वका हुन् । राष्ट्रिय दायित्व निर्वाह गर्नका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ । अहिले निर्वाचनको शंका यही पृष्ठभूमिमा देखिएको हो । अहिले नेकपा एमाले संविधान संशोधनको विषयमा छलफल नै आवश्यक छैन भनिरहेको छ भने मधेसी मोर्चा संविधान संशोधन नभए निर्वाचन नै सम्भव छैन भन्दैछ । यसै कारणले शंका पैदा भएको हो । यी दुवैको हठले नयाँ द्वन्द्वको सुरुवात हुन्छ । द्वन्द्व सुरु भयो भने चुनाव प्रभावित हुन्छ । त्यही कारणले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक भनिरहेको छ, अहिले चुनावसम्मका लागि के के विषय थाती राख्न सकिन्छ त्यसमा मधेसी मोर्चाका नेताहरू तयार हुनुपर्छ अनि एमालेले पनि हिजोका दिनमा आफूले स्वीकार गरिसकेको विषयमा हठ राख्न हुन्न भन्ने हो । अझै पनि समय छ । अझै पनि सबै राजनीतिक दलहरू एक ठाउँमा बसौं, छलफल गरौं । छलफलका क्रममा केही कुरा आएको पनि छ, सीमांकनको विषयमा सबै पार्टीहरू आन्तरिक रूपमा समेत एक ठाउँमा उभिन सकेका छैनन् । त्यही कारणले अहिले छलफल गरेर सीमांकनको विषय पछि आयोगमार्फत टुग्याउने गरी निर्वाचनमा जाऔं । भाषाको विषय, नागरिकताको विषय अनि राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा सहमति गरेर जाआंै । सकिन्छ भने सीमांकनको विषयमा पनि सहमति गरौं । तर निर्वाचन प्रभावित हुने कुनै पनि काम नगरौं । यसका लागि एमाले र मधेसी मोर्चाले पनि आआफ्नो हठ छोड्नुपर्छ । हठ कायमै राख्नु जिम्मेवारीपूर्ण भूमिका होइन ।
संविधान संशोधन प्रस्तावमध्येको सीमांकनको विषय थाती राखेर बाँकी विषयमा सहमति खोज्दा एमाले र मधेसी मोर्चाका बीचको मिलन बिन्दु हुन्छ भन्न खोज्नु भएको हो ?
अहिले त्यो आवश्यक हो भने पनि सबैले मान्न तयार हुनुपर्छ । यदि होइन भने सीमांकनको विषयमा संसद्मा नै सबै राजनीतिक दलका सांसदहरूले आआफ्नो संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसमा दलहरू आफ्ै भित्र पनि सीमांकनको विषयमा एकमत छैन । त्यसकारणले सीमांकनको विषयमा दलहरूका बीचमा दलहरूले आफ्नो पार्टीभित्र पनि छलफल गरेर सहमति गरेर अगाडि बढाउन सकिन्छ । सबै विषयमा साझा बिन्दु त खोजांै भन्ने हो । संविधान संशोधनमा सबैको सहमति आवश्यक छ । के गर्दा सहमति बन्छ सबैले साझा बिन्दु खोजांै । सबै दलले चुनावलाई केन्द्रमा राखेर सहमतिको साझा प्रयास खोज्ने प्रयासमा लागौं । यदि चुनावलाई केन्द्रमा राख्न छोडेर जसले आफ्नो हठ कायम राख्छ, भोलिका दिनमा चुनाव नहुनुको दोष त्यसैले बेहोर्नुपर्छ । आजका दिनमा दलहरूका बीचमा विश्वासको वातावरण बनाउन जरुरी छ । आज मुलुक एकदमै जटिल अवस्थामा छ । चुनाव भएन भने यतिबेला सम्मका उपलब्धि सबै गुम्ने खतरा छ । मुलुक कता जान्छ भन्ने ग्यारेन्टी छैन । चुनाव हुँदा सबै विषयमा समाधानको सुरुवात हुन्छ । नेपाली कांग्रेस विशेषगरी नेकपा एमालेलाई भन्न चाहन्छ– उहाँहरू (एमाले)ले राष्ट्रियताको विषय उठाउने गर्नुहुन्छ । तर आन्तरिक राष्ट्रिय एकता बलियो बनाउनेभन्दा कमजोर बनाउने काम गर्नुहुन्छ । आन्तरिक एकता खल्बलिन सक्ने एउटा गम्भीर विषयमा उहाँहरूले ख्यालख्याल गरिरहनुभएको छ । यो अवस्थाले नेपालको भौगोलिक अखण्डतामा, साम्प्रदायिकतामा समेत गम्भीर असर पर्न सक्छ । यो विषय एमालेका मित्रहरूले नबुझेर होइन बुझ्दाबुझ्दै यसो गरिरहनुभएको छ । यो उहाँहरूले राष्ट्रिय जिम्मेवारीभन्दा बाहिर गइरहनुभएको छ । हामीले यो बेलामा ध्यान दिनुपर्छ । सबै भूगोलमा बस्ने सबै नेपाली हौं । कुनै एउटा भूगोल बसोबास गरेका कारण अपहेलित हुने बाटो हामीले खोल्यांै भने राष्ट्रियता कमजोर हुन्छ । नेपाली कांग्रेसले यही भनिरहेको छ । बीपी कोइरालाले यसै भन्नुहुन्थ्यो । यसैले अहिले भनेको सबै राजनीतिक दलहरू आफ्ना हठ छोडेर निर्वाचनमा केन्द्रित हुन जरुरी छ । कुनै व्यवहार यस्तो नहोस् जसले हाम्रो आन्तरिक एकतामा आँच आओस् । मुलुक संकटपूर्ण अवस्थामा रहेकाले सानो गल्तीले मुलुकको आन्तरिक एकतामा आँच नआओस् भनेर सबै सचेत हुनु जरुरी छ ।
निर्वाचन हुनुपर्छ भन्नेमा तपाईंले जोड दिनुभयो, तर तपाईंको पार्टीले त कुनै तयारी थालेको जस्तो देखिन्न ?
सार्वजनिक रूपमा देखिने गरी कांग्रेसले अभियान सुरु गरेन भन्ने हो । तर निर्वाचनको तयारी आआफ्नै हुन्छन् । एमालेले निर्वाचनलाई अभियानको रूपमा लग्यो कांग्रेसले खै भनेर कांग्रेस कार्यकर्ताहरूले पनि भन्ने गरेका छन् । तर एमालेले थालेको अभियान निर्वाचनको वातावरण बनाउनभन्दा पनि मधेसी मोर्चाको काउन्टर अभियानजस्तो देखियो । यसले निर्वाचनको वातावरण बनाउन सहयोग भयो/भएन त्यसको मूल्यांकन स्वतन्त्र ढंगवाट भए राम्रो हुन्छ । एमालेले अहिले चुनावको वातावरण बनाउनेभन्दा आपसी सद्भाव भड्काउने खालको काम भयो कि भन्ने मलाई लागेको छ । हामी केही पनि गरिरहेका छैनौं भन्ने होइन । अहिलेको आवश्यकता भनेको स्थानीय तहको चुनावमा सबैलाई एकैसाथ लैजाने भन्ने हो । तर नेपाली कांग्रेसले चुनावका लागि आफ्नो तयारी गर्ने काम गरिरहेका छौं । माघमा बसेको कांग्रेसको बैठकबाट निर्वाचनको तयारी गरेका हौं । हामीले जिल्लाजिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर जिल्लाको संगठनलाई पूर्णता दिने, निर्वाचनको निम्ति संविधानको कार्यान्वयनका आवश्यकतासहित काम गर्नका लागि केन्द्रीय प्रतिनिधि पठाएका थियौं । अहिले पनि सबै जिल्लाका सबै संगठन चुस्त छन् । निर्वाचनको तयारीमा जिल्लाका जिल्ला समिति, क्षेत्रीय समिति तथा गाउँ नगर समितिहरू जुटेका छन् । अहिले गाउँपालिका बनेसँगै त्यहीअनुसारको संरचनाका बारेमा क्षेत्रीय तथा जिल्ला समितिले काम गरिरहेको छ । निर्वाचनमा अहिलेको अवस्था के छ भनेर केन्द्रीय प्रतिनिधिहरूले प्रतिवेदन बुझाएका छन् । यो विषयमा १० गते बस्ने भनेको केन्द्रीय समितिको बैठक आइतबार (आज) बस्दैछ । आइतबारको बैठकको मुख्य एजेन्डा भनेको नै निर्वाचन हो । निर्वाचनको बारेमा छलफल गर्ने छौं । उम्मेदवारको मापदण्ड बनाउनेदेखि केन्द्रीय प्रतिनिधिले दिएका सुझावलाई कार्यान्वयन गर्न के रणनीति बनाउने भन्नेसम्मको छलफल केन्द्रीय समितिको बैठकमा हुनेछ । स्थानीय निर्वाचनलाई सम्पन्न गर्नका लागि कांग्रेसले के के गर्नुपर्छ भन्ने विषयमा केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा गरेको परिवर्तन, आफ्नो नेतृत्वमा जारी गरेको संविधान कार्यान्वयनका लागि कांग्रेस तयारीमा जुटेको छ । स्थानीय निर्वाचनमार्फत संविधान कार्यान्वयनको दायित्व पूरा गर्नुपर्छ । कांग्रेसले यत्रो ठूलो परिवर्तनको नेतृत्व गरेका छ । आजका दिनमा सबैलाई एउटै बाटोमा हिँडाउन सक्ने भनेको नेपाली कांग्रेस भएको छ र त्यही कारणले मुलुकको स्थायित्व दीर्घकालसम्म गराउनका लागि नेपाली कांग्रेसलाई जिताउन आवश्यक छ । जनतामा यो विश्वास भएका हामीले पाएका छौं । त्यही कारणले नेपाली कांग्रेस फेरि स्थानीय निर्वाचनमा पनि ठूलो पार्टी नै हो । अहिलेको निर्वाचनमा को जित्ला, को हार्ला भन्ने होइन । अहिले त तीनै तहको निर्वाचन सम्पन्न भएर एउटा यति ठूलो राजनीतिक परिर्वतन पछि बनेको पद्धतिको जित हुनु सबैभन्दा ठूलो कुरा हो । अझ स्थानीय तहमा लामो समयसम्म जनप्रतिनिधिविहीन हुँदा मुलुकमा बेथितिको जग बसेको छ । अझ गाउँगाउँमा तयारीमा सबै लागेका छन् । हाम्रो केन्द्रीय समितिको बैठकपछि नेपाली कांग्रेस पूर्ण रूपमा निर्वाचनका लागि होमिनेछ ।
नेपाली कांग्रेस तहबाट निर्वाचनको कुनै पनि तयारी नथाल्दा निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका उत्पन्न भइरहेको जस्तो लाग्दैन् ?
यो बिल्कुलै गलत हो । विशेषगरी नेकपा एमालेले कांग्रेसले चुनाव चाहेको छैन भन्दै आएको छ । हामी चुनावको विरुद्धमा हुने त्योभन्दा अचम्म के हुन्छ । जबकि अहिलेको परिवर्तन जोगाउनुपर्छ भन्ने चिन्ता हामीलाई भन्दा अरुलाई हुन्छ जस्तो लाग्दैन । किनभने यो परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा आएको हो । अर्को भनेको एमालेले चुनावको तयारीका नाममा कतै चुनावमा नै अवरोध खडा गरेको त होइन । एमालेको भूमिका चुनावको वातावरण तयार पार्नेभन्दा पनि अन्यत्र अल्मलियो कि † तर नेपाली कांग्रेसको जिम्मेवारी भनेको चुनावी अभियानभन्दा ठूलो सबैलाई चुनावमा लैजानुपर्ने हो । नेपाली कांग्रेसमा नेपाली जनताले ठूलो भरोसा गरेका छन् । नेपाली कांग्रेसको नेतृत्व भयो भने मात्र पार्टीको आन्तरिक एकता हुन्छ, छिमेकीसँगको सन्तुलित सम्बन्ध हुन्छ । संविधान कार्यान्वयन भई मुलुुकले आर्थिक समृद्धिको दिशामा फड्को मार्छ भन्ने छ । नेपाली कांग्रेसले राजनीतिक रूपमै जनतालाई जागरुक गरेको छ । आर्थिक रूपमा हिजो के गरियो, भोलि के गर्ने भन्ने बारेमा आम नागरिकलाई स्पष्ट पार्दै आएका छौं ।
नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसा त छ तर नेपाली कांग्रेसमा देखिएको आन्तरिक गुटबन्दीका कारण नै समस्या छ भन्ने गरिन्छ नि ?
हामीले आफ्नो प्रतिस्पर्धी पार्टीहरूसँग प्रतिस्पर्धा गर्ने हो । हामी आपसमा प्रतिस्पर्धा गर्ने होइन । नेपाली कांग्रेसका शुभेच्छुक विभाजित छैनन् । पार्टीमा देखिएको गुटबन्दीका कारण समस्या हुन्छ कि भन्ने चिन्तालाई हामी चिन्ता गर्ने ठाउँ दिँदैनौं । १३औं महाधिवेशन पछि पार्टीमा देखिएका समस्या समाधान गर्नका लागि हामीले जति प्रयास गर्न सक्नुपर्दथ्यो त्यो गर्न सकेका छैनौं । जसरी विधि र विधानअनुसार संस्थागत ढंगले हरेक राष्ट्रिय मुद्दा, संगठनका मुद्दामा निर्णय गर्न सकेनौं । तर हामीले विधिलाई महत्वपूर्ण मानेर नै विधानले देखाएको बाटोमा रहेनौं कि भन्ने जस्तो देखिएको छ । तर हामी सिंगो पार्टी राष्ट्रिय मुद्दामा एक छौं । निर्वाचनमा जाँदा केही मनमुटाव देखिने गरी जाँदैनांै । सिंगो पार्टी संस्थागत छलफल गरेर राष्ट्रिय दायित्वबोध गर्नका लागि कतै कांग्रेस गुटबन्दीमा फस्यो कि भन्ने शंका पनि निवारण गर्ने छौं ।
प्रतिक्रिया