देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रीपरिषदको वरीयतामा थापा अघि भएपछि निधिको आपत्ति

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् । थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । प्रधानमन्त्री दाहालले गत २६ फागुनमा थापालाई उपप्रधानमन्त्रीसहित स्थानीय विकासमन्त्री नियुक्त गरेका थिए ।

थापाले दोस्रो वरीयताको दाबी गरे पनि स्पष्ट थिएन । बिहीबार (३ चैत) बसेको मन्त्रिपरिषद् बैठकबाट दाहालले आफूपछिको वरीयतामा थापालाई राखे । त्यतिवेला निधि नयाँदिल्लीमा थिए । त्यसअघिसम्म निधि प्रधानमन्त्री दाहालपछि दोस्रो वरीयतामा थिए । उनलाई दाहालले आफ्नो अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिँदै आएका थिए । शनिबार स्वदेश फर्केपछि कांग्रेस मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकबारे ब्रिफिङ गरेपछि निधि आक्रोशित बनेका हुन् ।

उनले आइतबार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आपत्ति मात्रै जनाएका छैनन्, उक्त निर्णय आफूलाई स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे कांग्रेसका प्रभावशाली नेताहरूको बैठक बोलाएर छलफल गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।