देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईजीपीको पत्ता यसै साता खुल्ने

देशान्तर

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भावी महानिरीक्षक को बन्लान् ? यो प्रश्नमा यतिबेला धेरैको ध्यान केन्द्रित भएको छ । फागुन २ गते दुवै प्रहरी संगठनका वर्तमान आईजीपीहरूले अनिवार्य अवकाश पाउदैछन् । त्यसपछि संगठनको नेतृत्वमा कसको उदय हुने हो ? धेरैले अनुमान र चासो व्यक्त गरिरहेका छन् । सम्भवत: यो नै पहिलो संयोग हो, दुवै प्रहरी संगठनमा एकैदिन नेतृत्व परिवर्तन हुन लागेको । 

फागुन २ गतेदेखि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी उपेन्द्रकान्त अर्यालसहित ११ जना एआईजीहरू ३० वर्षे सेवाअवधि सकिएर बिदा हुँदैछन् । त्यसैले सम्भवत: यसै साताको अन्तिम मन्त्रिपरिषद्ले भावी आईजीपीको पत्ता खोल्ने छ ।

नेपाल प्रहरीमा यसपटक पनि वर्तमान आइजीपी अर्यालले जस्तै डीआईजीबाटै आईजीपी हुने सौभाग्य एकजनाले पाउनेछन् । यसरी आईजीपी हुने चर्चामा रहेका वरिष्ठ डीआईजीहरूमा नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी छन् । यी चार जनामध्येबाट एक जनालाई आईजीपी बनाउने छुट सरकारलाई छ । तर, प्रहरी महानिरीक्षक बन्न वरिष्ठता, कार्यकुशलता र राजनीतिक पहुँचजस्ता विषयहरू महत्वपूर्ण हुने भएकोले भावी आईजीपीको फुली कस्को काँधमा सजिएला, अनुमान गर्न सकिन्छ । 

जानकार सूत्रहरूका अनुसार सरकार आईजीपी नियुक्तिको विषयमा नेपाल प्रहरीलाई धेरै गिजोल्ने पक्षमा छैन । बढ्दो सुरक्षा चुनौती र सन्निकट आइरहेको चुनावलाई दृष्टिगत गर्दै प्रहरीको मनोबल नगिरोस् भन्ने उद्देयले स्वाभाविक दाबेदारलाई नै आईजीपी नियुक्त गर्ने पक्षमा गृहमन्त्री विमलेन्द्र निधि रहेको स्रोतले बतायो । यस आधारमा यदि आईजीपी बनाउने हो भने डीआईजी नवराज सिलवालको पल्ला भारी देखिन्छ । सिलवाल डीआईजीहरूमध्ये सबैभन्दा वरिष्ठ हुन् । यद्यपि चारैजना डीआईजीहरू एउटै ब्याच (२०४४)का भए पनि डीआईजीमा बढुवा हँुदा सिलवाल एक नम्बरमा परेकाले प्राविधिक हिसाबले उनी नै सबैभन्दा वरिष्ठ हुन् । हुन त वरिष्ठलाई नै आईजीपी बनाउनुपर्छ भन्ने बाध्यता भने छैन । वरिष्ठ भए पनि कार्यकुशलतामा खोट लागेको छ भने अर्कोलाई छनोट गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ । तर, सिलवाल कार्यकुशलता पनि अब्बल नै रहेकाले उनलाई पन्छाएर अर्कोलाई आईजीपी बनाउँदा विवाद उत्पन्न हुने सम्भावना रहेकाले सरकारले त्यसो नगर्ने धेरैको अनुमान छ । 

सिलवालसँगै कार्यकुशलतामा अगाडि रहेका डीआएजी हुन् जयबहादुर चन्द । वरिष्ठतामा तेस्रो नम्बरमा रहे पनि कार्यकुशलता उनी सिलवालकै हाराहारीमा आउँछन् । तर, सिलवालभन्दा कनिष्ठ भएकाले उनी सरकारको लागि दोस्रो रोजाइमा पर्ने सम्भावना रहेको स्रोत बताउँछ । यतिबेला सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसको भागमा गृह मन्त्रालय रहेकाले सभापति शेरवहादुर देउवाले आफ्नै थात थलो सुदूरपश्चिमका चन्दलाई रोज्ने हुन् कि भन्ने धेरैको अनुमान छ । तर, गृहमन्त्री निधिले केही दिनअघि स्वाभाविक उम्मेदवारलाई आईजीपी बनाउने सार्वजनिक अभिव्यक्ति दिएकाले सुदूरपश्चिम ‘फ्याक्टर’ले काम नगर्ने सम्भावना पनि प्रबल रहेको छ । 

सिलवाल र चन्दबाहेक बाँकी रहेका डीआईजीहरू अर्याल र भण्डारी भने प्रतिस्पर्धामा खरो उत्रन सक्ने देखिँदैन । वरिष्ठतामा पनि अगाडि नभएका र उत्कृष्ट कार्यदक्षता पनि प्रदर्शन गर्न नसकेकाले अर्याल र भण्डारी आईजीपीको प्रतिस्पर्धामा पछाडि परेका हुन् । हाल आईजीपीका मुख्य दाबेदार डीआईजी नवराज सिलवालले केन्द्रीय अनुसन्धान ब्युरो, डीआईजी प्रकाश अर्यालले महानगरीय ट्राफिक प्रहरी महाशाखा, जयबहादुर चन्दले लागूऔषध नियन्त्रण ब्युरो र बमबहादुर भण्डारीले प्रहरीको आतंकवाद हेर्ने विशेष ब्युरो सम्हालिरहेका छन् ।

यसैगरी सशस्त्रमा पनि तीन जना एआईजीहरूमध्येबाट एकजना आईजीपी बन्ने निश्चित छ । प्रतिस्पर्धामा रहेका तीन जना एआईजीहरूमा सिंहबहादुर श्रेष्ठ एक नम्बरमा, प्रेम शाही दुई नम्बरमा र प्रकाश ओझा तीन नम्बरमा छन् । हालका महानिरीक्षक राईसहित एआईजीहरू कृष्णकुमार तामाङ र जितबहादुर पुन पनि फागुन २ गते नै अनिवार्य अवकाश पाउँदैछन् । राईपछि सशस्त्रको प्रमुख को होलान् भन्ने चर्चा सर्वत्र भए पनि अहिले नै भन्न सकिने अवस्था भने देखिँदैन । श्रेष्ठ, शाही र ओझा तीनैजना नेपाल प्रहरीबाट सशस्त्रमा एसपीमा आएका अधिकारीहरू हुन् । हाल कायम रहेको वरिष्ठतालाई आधार बनाउने हो भने सशस्त्रमा पनि सिलवाल जस्तै सिंहबहादुर श्रेष्ठलाई आईजीपीको प्रमुख दाबेदार मान्न सकिन्छ । स्रोतका अनुसार भावी महानिरीक्षकको दौडमा श्रेष्ठ अग्रपंक्तिमा रहेका छन् भने त्यसपछि ओझा र शाही छन् । 

 

]]>