देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हात र बित्ता नापेर समय बर्बाद नगरौं

देशान्तर

रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस
नेपाली कांग्रेसको समर्थनमा वर्तमान गठनबन्धन बन्दा ६ महिनाभित्र  स्थानीय निर्वाचन गर्ने भन्ने सहमति भएको थियो । तर सरकारले अहिलेसम्म पनि मिति घोषणा गर्न सकेको छैन नि ?

अझै मुलुकको अवस्था जटिल छ । सरकारको चैत्रमा निर्वाचन गर्ने भन्ने टार्गेट हो । वैशाखमा भनियो, फेरि मन्त्रिपरिषद्ले जेठको १० गतेका लागि तयारी गर्नका लागि निर्वाचन आयोगलाई भन्यो भन्ने समाचार सुनेको छु । निर्वाचनको मितिलाई घोषणा गरेर सम्पूर्ण देशलाई निर्वाचनमा लैजानुपर्नेमा पछिपछि धकेलिनु अझै चिन्ताको विषय हो । नेपाल चुनावको बाटोमा प्रवेश गर्नै पर्छ । चुनावको बाटोमा लाग्नुको विकल्प कसैसँग पनि छैन । अहिले निर्वाचनको वातावरण बनाउनका लागि बाधकको रूपमा प्रधानमन्त्री, विपक्षी एमाले र मधेसी मोर्चा देखिएका छन् । किनकि हिजोका दिनसम्म संविधान संशोधन प्रस्ताव टेबुल भएपछि निर्वाचनका लागि तयार छौं भन्ने मधेसी दलका साथीहरू अहिले संविधान संशोधन पास नभई निर्वाचन घोषणा हुनै हुन्न भन्दै हुनुहुन्छ । त्यसैगरी मधेसमा त्यत्रो असन्तुष्टि हुँदाहुँदै पनि संविधान एक इन्च तलमाथि हुनुहुँदैन भनेर एमालेले हठ गर्दै आएको छ । संविधान संशोधन कहीँ कतै राष्ट्रहित विपरीत छैन् । राष्ट्रहित विपरीत भए हामी चाहिँ किन चुप बस्थ्यौं । अर्को कुरा, निर्वाचनको वातावरण तयार गर्न प्रधानमन्त्री पनि लाग्नुभएन । एमाले र मधेसीलाई नमिलाएसम्म निर्वाचनको मिति घोषणा गर्नै हुन्न भन्ने प्रधानमन्त्रीजी मान्यताका कारण पनि समस्या देखिएको छ । 

अहिले विपक्षी नेकपा एमाले संविधान संशोधन हुनै नदिने अनि संविधान संशोधन नभएसम्म मधेसी दल चुनाव हुनै नदिनेमा छन् । चुनावभन्दा पहिले त यो अवस्थाको अन्त्य हुनुपर्ने होइन र ?

आज मधेसका साथीहरू र सबैले मान्नै पर्छ संविधानमार्फत यति ठूलो उपलब्धि हासिल गरेपछि हात र बित्ता नापेर केअी पुगेन भनेर समय बर्बाद गर्ने होइन । र हात परेका सबै उपलब्धिलाई उपेक्षा गर्ने र यसलाई धरापमा पार्ने काम कसैले पनि गर्न हुँदैन । सानातिना कुरा पूरा नभएको अवस्थामा संशोधनका लागि तयार छौ । अझै संशोधन गरेर परिमार्जनका लागि पनि हामी तयार छौं । सुधार गर्न सकिन्छ । आफ्ना सुधारका सुझाव राख्न सकिन्छ । त्यसरी सुधारका लागि सुझाव राखेर सहमतिका आधारमा टुंगो लगाउन पनि तयार छौं । कतिपय जिल्लामा देखिएका असन्तुष्टिलाई पनि हामी सम्बोधन गर्न तयार छौं । धेरै ठाउँमा देखिएका असतुष्टिलाई संसद्मा छलफल गरौं । संसद् नै जनताको प्रतिनिधि थलो हो । यसलाई वाइपास कसैले नगरौं । संसद्लाई उपेक्षा गर्नु भनेको जनतालाई उपेक्षा गर्नु हो । अहिले संसद्मा दर्ता भएको संविधान संशोधनलाई अगाडि बढाउने कुरामा हामी प्रतिबद्ध छौ । त्यतिमात्र होइन हामी यो संशोधनमा परिमार्जनका लागि पनि तयार छांै । 

तर योसँगै देखिएका असहमति विशेषगरी नेकपा एमालेले जुन ढंगले अडान लिएर अवरोध गरिरहेको छ । म एमालेलाई सोध्न चाहन्छु, अहिले संविधानले ग्यारेन्टी गरेको संघीयतालाई गुमाउने, यसैका आधारमा गणतन्त्रलाई गुमाउने ? के यही अडान कायम राखेर समावेशितालाई स्वाहा पार्ने ? के यसै आधारमा लोकतन्त्रलाई फेरि धरापमा पार्ने ? यो हुनै सक्दैन । 

र मधेसका पार्टीहरूले पनि बुझ्नुपर्छ । मैले मधेसमा गएर नै भनेको छु । हामीले संविधानबाट पाएका यतिका अपार उपलब्धिलाई सानातिना आठो किलोमा अड्किएर धरापमा पार्न हुँदैन । अब चुनावको बाटोमा मुलुकलाई लैजानै पर्छ । अब चुनावमा जाने हो, विकल्प केही छैन अरू  । 

मधेसमा पनि उग्र मधेसवाद हावी भएको देखिन्छ अनि अर्को उग्रराष्ट्रवाद भनौं अर्थात् उग्रमधेसी मोर्चा विरोधी कित्तामा एमाले देखिएको छ । यो बीचबाट समाधान कसरी हुन्छ ?

हो अहिले मुलुकमा दुईवटा अतिवाद हाबी हुँदै गएको छ । दुईवटा अतिवादका बीचबाट नेपाली कांग्रेसले मुलुकलाई बाहिर निकाल्न जरुरी छ । पहाडमा अति राष्ट्रवाद, मधेसमा अति मधेसवाद छ । यो दुईवटा अतिवादको बीचबाट नेपाली कांग्रेसले मुलुकलाई बाहिर निकाल्न जरुरी छ । हिमाल, तराई, पहाडका बीचको सम्बन्ध कायम राख्न जरुरी छ । अहिले मधेसमा आन्दोलन गरिरहेको मधेसी मोर्चा त समन्वयकारी शक्ति हो । नेपाल बचाउनका लागि यही समन्वयकारी शक्तिलाई साथमा लिएर अगाडि बढ्न जरुरी छ । नेपालजस्तो देशमा उग्र र अति राष्ट्रवादले समस्या सिर्जना गर्छ । अहिले पनि देखिएको छैन आन्दोलन तर मधेसमा असन्तुष्टि छ । हामीले समयमा सम्बोधन गर्न सकेनौं भने त्यो ठाउँ उग्र र अति मधेसीवादीले लिन्छन् । अहिले पनि सीके रावत भनौ अझै त्योभन्दा पनि चर्को समूहले स्पेस लिन्छ । अहिलेको मधेसी मोर्चा भनांै वा यो मध्यमार्गी शक्ति विस्थापित हुन्छ । यो मध्यमार्गी शक्ति विस्थापित भएका दिन नेपालको राष्ट्रियता माथि गम्भीर आघात पुग्छ । त्यसकारण पनि एमाले संविधान संशोधनमा तयार हुनुपर्छ । 

चुनावको कुरामात्रै गरिरहेको छ, यसका लागि नेपाली कांग्रेसले कुनै तयारी त गरेको देखिँदैन नि ?

चुनावको तयारी थाल्न ढिला भइसकेको छ । चुनावका लागि जनतालाई पनि तयार पार्नुपर्छ । चुनावका लागि जनतालाई तयार पार्ने काम पनि नेपाली कांग्रेसको हो । नेपाली कांग्रेसले चुनावी अभियान लिएर निस्किएपछि मात्रै जनतामा अब चुनाव हुन्छ भन्ने हुन्छ । त्यही भएर सभापतिसँग पनि मैले प्रस्ताव राखेको छु । माओवादी, एमालेलगायतका पार्टीले मधेस अभियान भनेर सञ्चालन गरिरहेका छन् । अब नेपाली कांग्रेसले देश अभियान चलाउने हो । नेपाली कांग्रेसले हिमाल, तराई, पहाडको अभियान चलाउने हो । अन्य दलहरूको मधेस अभियान, नेपाली कांग्रेसको हिमाल तराई, पहाड सारा देश अभियानलाई कांग्रेसले अगाडि बढाउनुपर्छ । यसरी अभियान सञ्चालन गर्दा जनताहरू निर्वाचनमा केन्द्रित हुन्छन् । यो अभियान सञ्चालन गर्दा आमसभा प्रशिक्षणहरू सञ्चालन गर्नुपर्छ । यो अभियानमा नेपाली कांग्रेसले सर्वसाधारणलाई समेत सहभागी हुने गरी अभियान सञ्चालन गर्नुपर्छ । यसरी जनतामा जाने नेपाली कांग्रेसको प्रयास हुनुपर्छ । पार्टीको नेतृत्वले संविधान कार्यान्वयन र निर्वाचनलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्नुपर्छ  । 

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा संविधानसभाबाट संविधान जारी गर्‍यो । तर संविधान कार्यान्वयनका कांग्रेस नै अल्मलमा परेको जस्तो देखिन्छ नि ?

वास्तवमा भन्ने हो भने देशलाई यो संविधानको कार्यान्वयन आवश्यक छ । संविधान कार्यान्वयन हुन सकेन भने यो पुस्ता असफल सावित हुनेवाला छ । अझ मुलुक नै के हुने हो, कुन संकटमा पर्ने हो भन्ने छ । यदि संविधानसभाबाट नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको यो संविधानलाई पूर्ण कार्यान्वयन गर्दै व्यवहारमा उतार्नका लागि तीनवटा चुनाव सम्पन्न गर्नैपर्छ । त्यसका लागि वैशाखभित्रमा नै स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्छ, जनतालाई निर्वाचनतर्फ उन्मुख गर्नुपर्छ । जनतालाई अन्यत्र उन्मुख हुन दिनु हुँदैन । जनता अरूअरू कुरातर्फ जनमत भड्कियो भने देश सम्हालिएर जाँदैन । देश र व्यवस्थालाई भविष्यसम्मका लागि सुनिश्चित गर्ने अवसर हो अहिले । व्यवस्था सुनिश्चित गर्नका लागि हामीले अपनाएको प्रणालीमा दक्षिणपन्थीदेखि वामपन्थीसम्मलाई एकै ठाउँमा ल्याएका छांै । दक्षिणपन्थी र वामपन्थी सबैलाई संसदीय लोकतान्त्रिक प्रणालीलाई हस्ताक्षर गराएर संविधानसभामार्फत संविधान जारी गराएर सहमत गराएका छौं । अब यसलाई सुनिश्चितता गर्ने हो । हामीले संघीयतालाई सुनिश्चिततातर्फ लैजाने हो । गणतन्त्रको ग्यारेन्टी गर्ने हो । लोकतन्त्र, समावेशितालाई सुनिश्चित बनाउने हो । 

स्थानीय तहको निर्वाचन हुने कि स्थानीय निकायको निर्वाचन हुने भन्ने अझै सहमति भएको छैन कसरी सहमति होला ?

स्थानीय तहको सीमा र संख्या निर्धारण गर्न बनेको प्रतिवेदनलाई सुधार गरेर, जनतालाई चित्त बुझाएर, हिमाल पहाड तराईलाई चित्त बुझाएर, स्थानीय तहको चुनावमा जान सकिन्छ भने नगरपालिका गाउँपालिकाको चुनावमा जाऔं । यसरी सम्भव छ भने यसका लागि गम्भीर रूपले प्रयासमा लागौं । होइन, स्थानीय तहको विषय मिलाउन समस्या छ भने कमसेकम चुनावमा जानु पर्‍यो । यसो हुँदा स्थानीय निकायको चुनावमा भए पनि जाऔं । चुनावमा जनतालाई लैजानुपर्छ । बुथमा जनता जान पाउनुपर्छ, ब्यालेटतिर जनता जान पाउनुपर्छ । बुथ र ब्यालेटभन्दा अन्यत्र जनताको ध्यान जान दिनु हुँदैन । त्यही भएकाले देशलाई अब चुनावमय बनाउनुपर्छ । देशलाई चुनावमय बनाउनका लागि सबैले इमानदारितापूर्वक लाग्नुपर्छ । चुनावको वातावरण बनाउनका लागि सरकार पनि लाग्नुपर्छ । अब हामीले आपसमा धेरै कुराहरूको मूल्यांकन गर्नुपर्छ । सबैले आ—आफ्नो मूल्यांकन गर्न लाग्नुपर्छ । सरकार अनि पार्टीहरूका बीचमा पनि केही आन्तरिक कमी कमजोरी भएको कुराहरू पनि मूल्यांकन गरेर सच्याउनेतर्फ जानुपर्छ । 

नेपाल करिबकरिब दुईवटा मौसममा निर्वाचन सहज ढंगले हुन्छ, वैशाख–जेठ एउटा, अर्को, भनेको कात्तिक मंसिर । निर्वाचन गराउने दुईवटा मौसम तर निर्वाचन तीनवटा गर्नुछ । यो सम्भव कसरी बनाउनुहुन्छ ?

अहिले भनेको हाम्रो तयारी स्थानीय निर्वाचनको हो । स्थानीय निर्वाचन यही वैशाख–जेठमा गराउनुपर्छ । वैशाख जेठमा स्थानीय निर्वाचन गराउन सकियो भने अरू दुईवटा निर्वाचन एकैपटक पनि गराउन सकिन्छ । त्यसकारण अहिले हामीले सबै निर्वाचन हुँदैनन् भन्ने मानसिकतामा होइन आउँदो माघसम्ममा सबै निर्वाचन गराउँछौं भन्ने मानसिकतामा लाग्नुपर्छ । एक ढंगले भन्ने हो भने हामीले २०७४ साललाई निर्वाचनको वर्षका रूपमा अगाडि लैजानुपर्छ । हामीले त २०७४ माघसम्ममा तीन तहको निर्वाचन गरेर संसद्लाई पूर्ण बनाउनु छ । त्यसैगरी संसद्ले पूर्णता पाएपछि हामीले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन पनि गराउनुपर्छ । त्यही कारणले हामीले आउँदो नयाँ वर्षलाई निर्वाचन वर्षका रूपमा अगाडि बढाउनुपर्छ । 

नेपाली कांग्रेसको सहयोग र समर्थनमा सरकार बनेको छ । नेपाली कांग्रेस पनि सरकारमा छ । यो सरकारको मूल्यांकन कसरी गर्नुभएको छ ?

हो, नेपाली कांग्रेस सरकारमा छ । नेपाली कांग्रेसका मन्त्रीहरू सरकारमा हुनुहुन्छ । कांग्रेस सरकारमा भएको बेलामा जनतालाई कति सरकार भएको महसुस गराउन सकिएको छ । कांग्रेस सत्तामा भएको समयमा जनता कत्तिको प्रभावित भएका छन् । जनताले कांग्रेस सरकारमा भएको कत्तिको महसुस गरेका छन् । कांग्रेसका नेता कार्यकर्ता कत्तिको उत्साहित छन् । सत्ताले हामीलाई कतिको मद्दत गरेको छ । यसको आन्तरिक मूल्यांकन जरुरी भएको छ । हामी मूल्यांकन गर्दै जाआंै । तर यी सबै काम पछाडि फर्कनका लागि होइन अगाडि जानका लागि, गल्ती सच्याउनका लागि गरौं । यो काम पार्टीभित्र आङ कन्याएर छारो उडाउनका लागि होइन । हामी सबैले आआफ्नो मूल्यांकन गर्न जरुरी छ । सबैले मूल्यांकन गरौं । आन्तरिक रूपमा नै मूल्यांकन गरौं कसले कति काम गरियो भनेर । गल्ती भएका भए सच्याउनेतर्फ जाआंै । पार्टीले जनतालाई कतिको प्रभावमा पार्न सकेको छ । त्यसको पनि मूल्यांकन जरुरी भएको छ । 

यसको मतलव अझै पनि नेपाली कांग्रेस एकताबद्ध हुन सकेको छैन भन्ने हो ?

नेपाली कांग्रेसको प्रतिस्पर्धा अहिले आफैंभित्र होइन, कांग्रेसको प्रतिस्पर्धा बाहिर ठूलो प्रतिस्पर्धा छ । यो कुरालाई हामीले बिर्सियौं भने हामी बीचमा धेरै दरार उत्पन्न होलान् । यो हाम्रा बीचमा चुनौती बन्छ । यो चुनौतीको सामना गर्नका लागि हामीबीचमा एकता हुन्छ कि हुँदैन, हामी एकजुट भएर अगाडि बढ्न सक्छौ कि सक्दैनौं ? मैले त सुरुदेखि नै भन्दै आएको छु । एकताको प्रयासका लागि एकताको व्यवहार पनि आवश्यक छ । एकताको व्यवहार र आचरण गाउँबाट होइन हामीले माथिबाट सुरु गर्न आवश्यक छ । मैले त सभापतिजीलाई पटकपटक भनेको छु, पार्टीलाई एकाकार बनाउनका लागि हात अगाडि बढाउनुुस्, पार्टीलाई एकाकार बनाउने अभियानमा हरकदममा सहयोग हुन्छ भनेर मैले भनेको छु । अहिलेजस्तो पार्टीको एकताका लागि कुनै यो पक्षलाई बलियो बनाउने कुनै अर्को पक्षलाई  कमजोर बनाउने मानसिकताले पार्टीको एकतालाई बाधा पुर्‍याउँछ । त्यसो भएको हुनाले पार्टीलाई एउटा मूल्यका आधारमा, मान्यताका आधारमा, एउटा संस्कारका आधारमा एकताबद्ध बनाउन जरुरी छ । नेपाली कांग्रेसको संस्कार के हो, परम्परा के हो, त्यतापट्टि ध्यान दिऔं । 

तपाईंले भन्नुभयो, दक्षिणपन्थी र वामपन्थी दुवैलाई संसदीय व्यवस्थामा कबुल गरायो कांग्रेसले भनेर । यो त कांग्रेसको जित हो तर किन कांग्रेसले जितको महसुस गर्न नसकेको ?

अहिले नेपाली कांग्रेसको सिद्धान्तले जित्ने तर कांग्रेसले हार्ने भइरहेको छ । यसो हुनुमा कतै हाम्रो आचरण हाम्रो व्यवहार यी कुराहरूले असर गरेका छन् । जनताले नेपाली कांग्रेसको सिद्धान्त कांग्रेसको आदर्श त्याग गरेका छैनन् । तर कांग्रेसको आदर्श छोडेर हिँड्ने कांग्रेसको सिद्धान्त छोडेर कांग्रेस भइरहने, कांग्रेसको चरित्र र व्यवहारलाई बिसर्ने कांग्रेसहरूलाई जनताले सहन सक्दैनन् । यो कुरा पार्टीको नेतृत्वले बुझ्नु पर्‍यो । आजको मुलुकको एजेन्डा भनेको मुलुकको विकास हो, मुलुकको समृद्धि हो । राष्ट्रको विकास र समृद्धिमा सबैभन्दा ठूलो बाधा भनेको भ्रष्टाचार हो । भ्रष्टाचारी संस्कृति व्यवहार अनि पैसाको खोलो बगाउने राजनीति जनताले मन पराउँदैनन् । त्यसो भएको हुनाले कांग्रेसलाई यतातर्फ पनि संयमित बनाउन जरुरी छ । पार्टीलाई सशक्त बनाउन प्रजातान्त्रिक समाजवादी छवि, बीपी कोइरालाको आचरण, कांग्रेसको असली आचरणलाई जनताको बीचमा लैजानु परेको छ अहिले । यसो भयो भने नेपाली कांग्रेसका बीचमा एकता स्वाभाविक रूपले हुन्छ । हामीले यही कांग्रेसको आचरण देखाउन सकेमा यो  देशको नेतृत्व कांग्रेसले गर्न सक्छ । मुलुकका समस्याको समाधान गर्न हामी सक्छौं । मुलुकका समस्याको समाधान नेपाली कांग्रेसले नै दिनुपर्छ । कांग्रेसले समाधान नदिए अरू कसैले समाधान दिनेवाला छैनन् । त्यसकारण हाम्रा वामपन्थी मित्रहरूले सधैं समस्या बल्झाउन सक्छन् तर समाधान दिनका लागि नेपाली कांग्रेस चाहिन्छ । त्यही कारणले हामीले कांग्रेसको आचरण, संस्कृति र धर्म जोगाउन लागेमात्र हामीले मुलुकको समाधान दिन सक्छांै ।

 

]]>