देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको राष्ट्रवाद चलचित्रका लागि

देशान्तर

काठमाडौं । पछिल्लो समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवाद र राष्ट्रियताका नाममा धेरै चर्को कुरा गरिरहेका छन् । धेरै नेपालीलाई पनि लागेको छ, एमाले अध्यक्ष ओली साँच्चै मुलुकको राष्ट्रियताका लागि लडिरहेका छन् । तर एमाले अध्यक्ष ओलीले उग्र रूपमा चर्को राष्ट्रियताको कुरा गर्नुको र त्यही अनुरुपको गतिविधिमा संलग्न हुनुको पछाडिको रहस्य आम नेपालीले मात्र नभएर एमाले नेताहरूले पनि भर्खरैमात्र थाहा पाएका छन् । जब एमाले नेताहरूले ओलीको चर्को राष्ट्रवाद ओकल्नुको पछाडिको कारण थाहा पाए त्यसपछि भ्रमको पर्दा च्यातिए जसरी जिब्रो टोक्न थालेका छन् । ओलीको उग्र र चर्को राष्ट्रवादको नारा मुलुकको हितका लागि भन्दा पनि काँचको पर्दामा उतार्नका लागि हो भन्ने रहस्यको पर्दा हालै आएर च्यातिएको हो । माघ १६ गते माइतीघर मण्डलाबाट ओलीको राष्ट्रवाद उदाङ्ग बनेको हो । 

एमाले नेताहरूलाई नै भ्रममा राखेर ओलीले चर्को राष्ट्रियताको नारा आफ्नो जीवनीमाथि बनिरहेको चलचित्र रातो सूर्यका लागि लगाइरहेको माघ १६ गते पुष्टि भयो । यतिबेला ओली जीवनमाथि ‘रातो सूर्य’ नामक चलचित्रको छायाकंन धमाधम भइरहेको छ । माघ १६ गते सहिद दिवसका दिन सबैभन्दा ठूलो राष्ट्रिय झन्डा माइतीघर मण्डलामा गाँडियो । त्यो पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समेत सहभागी गराएर । माइतीघरमा एमाले अध्यक्ष ओली र राष्ट्रकविले राष्ट्रिय झन्डा गाडेको दृश्य ओलीको जीवनका आधारित चलचित्र ‘रातो सूर्य’मा समेटिएको छ । उक्त चलचित्रको स्क्रिप्टमा पहिले नै लेखिएको थियो, माइतीघर मण्डलमा राष्ट्रिय झन्डा गाड्ने दृश्य । त्यही दृश्य छायाकंन गर्न ओलीले राष्ट्रिय झन्डा र राष्ट्र कविको समेत दुरुपयोग गरे । यो रहस्यको खुलासाभएपछि यसलाई लिएर एमालेभित्रै असन्तुष्टि चुलिएको छ । नितान्त फिल्मको सुटिङका लागि सञ्चारमाध्यममा राष्ट्रियता, राष्ट्रिय झन्डा र राष्ट्रकविलाई समेत ओलीले दुरुपयोग गरेर ओलीले एमालेको साख गुमाउन लागेको भन्दै पार्टीभित्रै आलोचना सुरु भइसकेको एमालेका एक नेताले बताए । 

त्यतिमात्र नभएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीके कुर्सी छोडेपछि गरेका भाषण, गतिविधि अनि आन्दोलन तथा उपद्रोहरु उनको जीवनीमा आधारित भएर बनिरहेको फिल्म रातो सूर्यको सुटिङका लागि भएको सावित भएको छ । राष्ट्रवादी आन्दोलनका नाममा भएको भृकुटीमण्डपको सभासमेत रोक्न तयार भएको बेलामा फिल्म निर्माणकर्ताको दबाबमा अध्यक्ष ओलीले नरोकेको तथ्य खुलेको छ । अझ पछिल्लो समय एमालेले बनाएका सबै कार्यक्रमहरू फिल्म निर्माणकर्ताको योजनाअनुसार भइरहेको समेत एमाले मुख्यालयमा चर्चा चल्ने गरेको छ । अब एमालेले लगत्तै तराई मधेसलाई केन्द्रित गरेर सुरु गरेको मधेस अभियान पनि फिल्म सुटिङका लागि भएको तथ्य खुलेको छ । ओलीको जीवनीमा बनिरहेको फिल्म ‘रातो सूर्य’ मंसिर २८ गतेदेखि छायांकनमा छ । ‘रातो सूर्य’ फिल्मको टिम अध्यक्ष ओलीका हरेक कार्यक्रममा सँगै हिँड्ने गरेको छ । फिल्मको मुख्य पात्र नै अध्यक्ष ओली हुन् ।

तराई मधेसमा समेत ओलीको नेतृत्वमा राष्ट्रिय झन्डा फहराएको दृश्य फिल्ममा आवश्यक भएकाले फिल्म निर्माणकर्ताको योजनाअनुसार एमाले अध्यक्ष ओलीको दबाबमा मधेस अभियान सुरु गरिएको बताइएको छ । यस्तै योजनाअनुसार फिल्मको टिमले ओलीसँगै टेकुस्थित पचली पुगेर वीर बलभद्र कुँवरको सालिक अनावरण गरेका थिए । अहिले एमाले अध्यक्ष ओलीका सबै कार्यक्रम फिल्म निर्माणकर्ताको योजनाअनुसार बन्ने गरेका छन् । रातो सूर्यका लेखक तथा निर्देशक दीपेन्द्रप्रसाद दाहाल हुन् भने निर्माता पुरन गिरी हुन् । फिल्ममा विश्व बस्नेत, हरिहर शर्मा, शूरवीर पण्डित, टीका पहाडी, ध्रुव कोइराला, पवन खतिवडा, केशव भट्टराईलगायतको मुख्य अभिनय रहनेछ ।

एमाले अध्यक्षको फिल्मी मोह देखेर अहिले एमालेमासमेत असन्तुष्टि बढेको छ । सिंगो पार्टी निर्वाचनमा होमिनुपर्ने बेलामा अध्यक्षको फिल्मी मोहले पार्टी संकटमा परेको विश्लेषण हुन थालेको एक नेताले बताए । संसद्मा संविधान संशोधनको अवरोध पनि फिल्मी सुटिङका लागि भएको बताइएको छ । ‘सडकदेखि सदनसम्म र सहरदेखि गाउँसम्म नै नेकपा एमालेका कार्यक्रम पार्टीका नेता कार्यकर्ताले होइन फिल्मी निर्माताले तय गर्न लागेको छन्’, एक एमाले नेताले भने, ‘अब एमालेले संगठन होइन, फिल्म देखाएर भोट माग्ने रणनीति तयार गर्ने होला, हामी कार्यकर्ताको के काम भयो र ?’

 

]]>