देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टेलियासोनेरा कर नतिरी भागेको पुष्टि

देशान्तर

काठमाडौं । एनसेल सेयर बिक्रीमा पुँजीगत लाभकरको विषय उछालेर खरिदकर्ता आजिआटाको मनोबल गिराउने र एनसेलको व्यावसायिक प्रगति एवं ग्राहकहरूबाट प्राप्त भइरहेको विश्वासनियतालाई गिराउने खेल चलिरहेका बेला यसबारेमा एउटा स्विडेनको टेलिभिजन च्यानलले अनुसन्धानमूलक समाचार रिपोर्ट प्रसारण गरेको छ । स्विडिस टेलिभिजन च्यानल एसटीभीले नेपालका सरकारी अधिकारी, करविज्ञ एवं विभिन्न सरोकारवालाहरूसँग अन्तर्वार्ता गरेर तयार पारेको टेलिभिजन रिपोर्टमा एनसेल सेयर बिक्रीबापतको पुँजीगत लाभकर बिक्रेता कम्पनी टेलियाले तिर्नुपर्ने यथार्थलाई पुष्टि गरेको हो । एनसेलको सेयर बिक्रेता कम्पनी टेलियासोनेरा स्विडेनमै स्थापना भएको कम्पनी हो । उक्त कम्पनीले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियाको आजियाटा कम्पनीलाई बिक्री गरेको हो ।उक्त सेयर बिक्री भएपछि नेपालका केही मिडिया तथा तथाकथित बुद्धिजीवीहरूले पुँजीगत लाभकर बिक्रेताले नभई खरिदकर्ताले तिर्नुपर्ने भन्दै एनसेलमाथि सुनियोजित रूपमा प्रहार गर्दै आएका छन् । यही निहँुमा एनसेलका व्यावसायिक योजनाहरूलाई अवरुद्ध पार्ने प्रयास भइरहेको छ । यसमा केही सांसद्हरू संलग्न रहेका छन् । एसटीभीले टेलियासोनेराले नै पुँजीगत लाभकर तिर्नुपर्ने दाबी गरेको छ ।

उक्त टेलिभिजनले आफ्नो सहायक कम्पनी एनसेलको स्वामित्व बिक्री गरेबापतको पुँजीगत लाभकर टेलियाले नै तिर्नुपर्ने दाबीसहितको सामग्री प्रसारण गरेको हो । नेपालका कर अधिकृत, सरकारी अधिकारी, अर्थमन्त्रीलगायतका साझेदार तथा टेलियासोनेरासँग कुरा गरेर तयार पारेको समाचार बिहीबार राति प्रसारण गरेको हो । उक्त सामग्रीमा नेपालले टेलियासोनेराबाट अर्बौंको कर चुहेको बताइएको छ । नेपालमा रहेको आफ्नो सहायक कम्पनी एनसेल बिक्री गरेपछि कर अधिकारीले टेलियालाई कर तिर्नका लागि आव्हान गरेको तर टेलिया आफ्नो जिम्मेवारी पूरा नगरी हिँडेको दाबी गरिएको छ । पुँजीगत लाभकर तिर्ने विषयमा छलफलका लागि कम्पनीका प्रमुख कार्यकारीलाई बैठकमा बोलाए पनि उनले देशै छाडेर हिँडेको उक्त टेलिभिजन सामग्रीमा उल्लेख गरिएको छ । नेपालको आयकर ऐनमा विदेशी स्वामित्वका लागि पनि ‘नेपालमा आय गर्ने व्यावसायिक गतिविधि वा लगानी छ भने’ कर दायित्व स्थापित रहने उल्लेख छ । उक्त रिपोर्टमा नेपाल सरकार, आयकर ऐन लेख्ने अधिकारी तथा नेपालका कर अधिकृत एनसेल कारोबारको कर नेपालमै तिर्नुपर्ने पक्षमा रहेको जनाइएको छ । अर्थमन्त्री कृष्णबहादुर महराको भनाइ उद्धृत गर्दै उक्त टेलिभिजन कार्यक्रममा कर दायित्वबाट टेलियासोनेरा च्युत हुन नसक्ने जनाइएको छ । ठूला करदाता कार्यालय पनि कर टेलियाबाट तिराउनै पर्ने पक्षमा रहेको उक्त रिपोर्टमा उल्लेख छ ।

पुँजीगत लाभकर बिक्रेताले तिर्ने दायित्व हो । जसले बिक्री गरेर पुँजी प्राप्त गर्दछ उसैले कर तिनुपर्ने संसारभरिको नियम हो । यही विषयलाई उक्त रिपोर्टले पुष्टि गरेको छ । एनसेल बिक्री गर्ने टेलियासोनेरमा स्विडेन सरकारको समेत स्वामित्व रहेको छ । उक्त कम्पनीको करको दायित्वबाट च्युत हुने प्रयासलाई त्यहाँकै मिडियाले प्रश्न उठाएको हो । स्विडेनको राष्ट्रिय टेलिभिजन एसटीभीको अनुसन्धानमूलक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम अप्पड्राग ग्रान्स्कनिङ (मिसन रिभ्यु) ले यही विषयमा कार्यक्रम प्रस्तुत गरेको हो । कार्यक्रममा नेपालका पत्रकार, कर कार्यालयका अधिकारी, मन्त्री र सर्वसाधारणका प्रतिक्रिया पनि लिइएको छ । कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलको बिक्रीमा टेलियाले कर तिर्नुपर्ने स्पष्ट रूपमा बताएका छन् । त्यसैगरी स्वास्थ्य मन्त्री गगन थापाले कर नतिरेर टेलियाले धोका दिएको बताएका छन् ।

टेलियाका सीईओ जोन डेल्लेलिन्डले नेपालबाट आफू जिम्मेवारपूर्ण रूपमा बाहिरिएको बताए पनि कार्यक्रममा समीक्षा गरिएको छ– के त्यो जिम्मेवारी पूर्ण थियो । कार्यक्रममा कर कार्यालयले एनसेल बिक्रीको विषयमा स्पष्ट पार्न आऊ भनी टेलिया नियुक्त एनसेलका तत्कालीन सीईओलाई उपस्थित हुन पत्र काट्दा हाजिर हुनुको साटो देश छाडेर भागेको प्रसंग पनि उठाइएको छ । नेपालको कर कानुन बनाउँदा विभागको प्रमुख रहेका पूर्व अर्थसचिव विद्याधर मल्लिकले टेलियाले नेपालमा लगानी गरेको हुनाले उसले नेपालमा कर तिर्नुपर्ने बताएका छन् । तर टेलियाका सीईओले भने यो कानुनबारे बताउँदा हामीले जोसँग सल्लाह गरेका थियौं उनीहरूले नर्वेमा भएको कम्पनी बेच्दा कर तिर्न नपर्ने बताएका छन् भन्ने जवाफ दिएका छन् । अझ टेलियाले नेपालमा मोबाइल नेटवर्क जडान र लाइसेन्स लिँदा अर्बौंको खर्च गर्नुपरेको र त्यसलाई घटाउँदा एनसेल बिक्री गर्दा कुनै नाफा नभएको दाबी गरेको छ । टेलिया सीईओको अनुसार पुँजीगत लाभ कर नेपालमा तिर्नु पर्दैन, नर्वेमा तिर्नुपर्ने हो । तर नर्वेमा पुँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छैन । बिक्रेता टेलियाको यो भनाइबाट पनि पुष्टि हुन्छ पुँजीगत लाभकर तिर्ने दायित्व बिक्रेताकै हो । तर बिक्रेता कम्पनी नर्वेमा दर्ता भएकोले त्यहाँको कानुनअनुसार कर तिर्नु पर्दैन ।

तर नेपालमा भने केही स्वार्थी तत्वहरू जबर्जस्ती खरिदकर्तालाई पुँजीगत लाभकर तिराउने अभियानमा लागेका छन् । उनीहरूले विक्रेतालाई उम्किन दिने तर खरिदकर्ताको घाँटी समाउने रणनीति अख्तियार गर्नुले विभिन्न आशंका जन्मिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले एनसेलको पुँजीगत लाभकरको विषय उछाल्नुलाई ‘कर्पोरेट वार’को संज्ञा दिँदै आएका छन् । प्राकृतिक न्यायको सिद्धान्तले पनि खरिदकर्तासँग लाभकर असुल्न मिल्दैन । अर्थमन्त्री कृष्णवहादुर महराले यही मान्यता अघि सारेका छन् । तर उनलाई गलत सावित गर्न अमिल्दा तर्कहरू झिक्न थालिएको छ । आखिर यस्ता अमिल्दा तर्कहरू अघि सार्नुको पछाडिको रहस्य के हो ? खोजीको विषय बनेको छ ।

 

]]>